त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलमले जय ट्रफी एलिट कपअन्तर्गत तीनदिवसीय फाइनलमा १२ विकेट लिएका छन् । वीरगन्जको नारायणी रंगशालामा साहबले नेपाल पुलिस क्लबविरुद्ध पहिलो इनिङ्समा सात तथा दोस्रोमा पाँच विकेट लिएका हुन् । जय ट्रफीमा उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्ष स्थानमा छन् । समग्रमा साहबले ३३ विकेट संख्या पुर्याएका छन् । जय ट्रफीको राउन्ड रोबिन लिग हुँदा पनि उनी नै सर्वाधिक विकेट लिने बलर थिए ।
यसअघिका तीन खेलमा उनले २१ विकेट हात पारेका थिए । पुलिसविरुद्धको पहिलो इनिङ्समा साहबले १२.४ ओभर बलिङ गर्दै ३७ रन खर्चेर सात विकेट लिएका थिए । यसक्रममा उनले तीन मेडन ओभर फ्याँके । पुलिसले आफ्नो पहिलो इनिङ्स १३३÷९ को अवस्थामा समाप्ति गरेको थियो । प्रत्युत्तरमा आर्मीको पहिलो इनिङ्स १७० रनमा समेटिएको थियो । पुलिसले दोस्रो इनिङ्समा नौ विकेट गुमाएर १३२ रन बनाएको छ । पुलिसले आर्मीविरुद्ध दोस्रो इनिङ्समा ९५ रनको अग्रता लिएको छ ।
पुलिससँग एक विकेट बाँकी
फाइनलको अन्तिम तथा तेस्रो दिन बिहीबार हो । दोस्रो दिनको खेल समाप्तिसम्म पुलिसले सामान्य अग्रता लिएको छ । आर्मीको आक्रामक बलिङमा पुलिसले गतिलो ब्याटिङ गर्न नसकेको हो । पुलिस दोस्रो इनिङ्समा ३७ रनले पछि थियो । पुलिससँग अन्तिम दिन एक विकेट मात्र बाँकी छ । क्रिजमा सागर ढकाल र ललितनारायण राजवंशी छन् । सागरले १ रन बनाउन १७ बलको सामना गरेका छन् । ललितले ९ बल खेल्दा खाता खोलेका छैनन् ।
पुलिसका ओपनर तथा कप्तान कुशल भुर्तेल ४५ तथा दिलीप नाथले ३४ रनको योगदान दिए । आर्मीका साहबबाहेक बसिर अहमदले चार विकेट लिए । पुलिसको पहिलो इनिङ्समा कुशलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन जोडे । प्रत्युत्तरमा ब्याटिङ गरेको आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन जोडे ।
उनले ५५ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । बसिर अहमदले ४० रन बनाउन ५५ बलमा तीन चौका प्रहार गरे । सोमपाल कामीले ३२ रन बनाए । उनले आफ्नो इनिङ्समा तीन चौका हिर्काए ।
कप्तान विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए । आर्मीविरुद्ध पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर पाँच विकेट लिए । कुशलले तीन विकेट लिए । ललित र गुल्सन झाले समान एक विकेट हात पारे ।