बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर–बजार झर्नेको संख्या ठुलो छ । सेवा–सुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । बनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रुख–बिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।
दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदरआतंक बढी छ ।
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका- ५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसंख्या कम हुँदै जाँदा बाँदरआतंक भने बढ्दै गएको उनको भनाइ छ । पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे । ‘गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्यबाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,’ उनले भने, ‘कुन वेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनुपर्यो ।’
काठेखोला गाउँपालिका- ५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाइदिने र पशुचौपाया मारिदिँदा बर्सेनि लाखौँको नोक्सानी व्यहोर्नुपरेको गुनासो गरे । हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौं र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।
गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए । उनले भने, ‘हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुपर्यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।’