वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै विशेष अदालत बार एसोसिएसनले घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेको छ। एसोसिएसनले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पीडित जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता त्रिपाठी जिल्ला अदालत काठमाडौं पुगेका थिए। तर, फर्किने वेला मूलगेटमा उनीमाथि भिडले हातपात गरेको थियो। यसरी कानुन व्यवसायीउपर भौतिक आक्रमण भएकोप्रति विशेष बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बार सचिव युवराज बन्जाडेद्वारा जारी विज्ञप्तिमा यो लोकतान्त्रिक चरित्रविपरीत रहेको उल्लेख छ।
‘मुद्दामा प्रतिनिधित्व गरेकै आधारमा आक्रमण गर्नु उन्नत लोकतान्त्रिक चरित्रविपरीतको आपराधिक कार्य हो भन्ने यस बारको ठम्याई रहेको छ र उक्त कार्यको घोर निन्दा गर्दछ,’ विशेष बारको विज्ञप्तिमा छ। वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले आक्रमण गरेको बताएका छन्।
विशेष बारले विज्ञप्तिमा थप भनेको छ, ‘यस्ता खालका अवाञ्छित गतिविधि न त राजनीतिक हुन सक्दछन् न त लोकतान्त्रिक चरित्रअनुकूल नै, जेजस्तो उद्देश्य राखी जुनसुकै समूहबाट गरिएको भए तापनि कानुन व्यवसायीमाथिको आक्रमण समग्र कानुन व्यवसायी एवं सिंगो न्याय प्रशासनमाथिको आक्रमण रहेकाले यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी, अविलम्ब पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न यो बार एसोसिएसन जोडदार रूपमा माग गर्दछ।’
उता प्रहरीले त्रिपाठीमाथि आक्रमणको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
रास्वपाले भने विज्ञप्ति प्रकाशन गरी त्रिपाठीमाथि आक्रमणमा आफ्ना सदस्यको संलग्नता देखिएमा कारबाही गरिने प्रतिबद्धता जनाएको छ।