कञ्चनपुरस्थित महेन्द्रनगरको चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ परेका छन्। गएराति भीमदत्त नगरपालिका– ६ महेन्द्रनगर ऐठपुरस्थित चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले डान्सबारभित्र ग्राहकहरूबिच एक–आपसमा वादविवाद हुँदा भारतीय नागरिकले पेस्तोल देखाएर भाग्ने क्रममा सडकबाटै पक्राउ गरिएको बताए। प्रवक्ता जोशीका अनुसार युके ०६ एआर ०८४६ नम्बरको भारतीय जिप र हतियारसहित चारै भारतीय नागरिकलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारत उत्तराखण्ड प्रेमनगर खटिकाका ३२ वर्षीय सञ्जय जेठी, ३४ वर्षीय जीवन सिंह, ३२ वर्षीय कोमल विष्ट र ३४ वर्षीय उमेदसिंह अधिकारी रहेका छन्।
उनीहरूको साथबाट म्यागजिन र पेस्तोल बरामद गरिएको छ। हतियारसहित पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको र हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।