मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ १ मंगलबार १३:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभरका त्रिवेणीधाम र धार्मिक स्थलमा मकर स्नान गर्नेको घुइँचो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार १३:२७:oo

धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रूपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर संक्रान्ति स्नान गर्ने भक्तजनको भिड लागेको छ ।

आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भिड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र– १ चतराधामस्थित बराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठुलो संख्यामा भक्तजन स्नान गर्न र पुजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए । यहाँ पुजा गर्न र मकर स्नान गर्न मुलुकका विभिन्न स्थानसँगै भारतको बिहार, पश्चिम बंगाल, सिक्किमसँगै भुटानबाट समेत हिन्दु धर्मावलम्बीहरू आउने गरेको गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले बताए ।

यसैबिच कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिकस्थल मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भक्तजनको भिड लागेको छ । बिहानै कालीगण्डकीमा स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरहको पुन्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पर्वत सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायतका स्थानबाट भक्तजन स्नान गर्न आइपुगेका हुन् । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणीमा आज विशेष मेला लागेको छ । यहाँ विश्वकै ठुलो शालिग्राम शिलाको दर्शन गर्न र स्नान गर्न भक्तजनको भिड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिए । त्यसैगरी, पवित्र देवभूमि-वेदभूमिको प्रवेशद्वार मानिने कैलालीको गोदावरीधाममा ‘बाह्रराशि दर्शन मकर मेला’ प्रारम्भ भएको छ । बाह्रराशि दर्शन मेला हुने भएपछि गोदावरीधाम क्षेत्रमा भक्तजनहरूको चहलपहल बढेको छ । गोदावरी नगरपालिकाले भक्तजनका लागि बस सेवा उपलब्ध गराएको छ ।

आजदेखि यही माघ १२ गतेसम्म १२ दिवसीय बाह्रराशि दर्शन मकर मेला सुरु भएको आयोजक गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार, चुरे पहाडको फेदमा रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ । यहाँ पवित्र गोदावरी नदी, मठमन्दिर, धर्मशाला र बौद्ध गुम्बा छन् । यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख छ ।