परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
मन्त्री डा. राणा शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनका परिवारजनमा समवेदना प्रकट गरेकी हुन् ।
पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो । मन्त्री डा. राणाले सो शोकपुस्तिकामा पूर्वराष्ट्रपति कार्टर एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्र भएको बताएकी छिन् ।
मन्त्री डा. राणाले शोक सन्देशमा भनेकी छन्, ‘पूर्वराष्ट्रपति कार्टर, परोपकार, शान्ति तथा प्रजातन्त्रका क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व थिए । अमेरिकाको राष्ट्रपतिका साथै कार्टर सेन्टरको संस्थापकका रूपमा रहेर उहाँले मानव अधिकार तथा प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशंसा हुने गर्दछ ।’
नेपालमा संविधानसभाको निर्वाचनका समयमा सन् २००७ र २०१३ मा स्वर्गीय कार्टरले गरेको नेपाल भ्रमणको स्मरण गर्दै मन्त्री डा. राणाले स्वर्गीय कार्टर नेपालका एक सच्चा मित्र र शुभचिन्तकका रूपमा नेपालमा सधैँ शान्ति र प्रजातन्त्रका पक्षमा रहेको उल्लेख गरेकी छिन् ।