मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
२o८१ पौष १९ शुक्रबार १३:४१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै सिसवनीका महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १३:४१:oo

सिराहाको लहान नगरपालिका– २२ स्थित सिसवनीकी अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छिन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी हुन् । खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताइन् । 

‘लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ,’ उनले भनिन् । 

उनी मात्रै होइन, यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गंगा सदायले जानकारी दिइन् । उनले भनिन्, ‘सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।’

अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताए । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ । अघिल्लो वर्ष मात्रै माछा बिक्रीबाट डेढ लाख रुपैयाँ आम्दानी गरिएको र ६ क्विन्टल आलु उत्पादन गरी ७५ हजार रुपैयाँ  खुद नाफा भएको नन्दीलालले बताए । आलु, गोलभेँडा, काउली, झिँगनी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उनले जानकारी दिए । 

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरिरहेको छ । किसानलाई खेतीसम्बन्धी तालिम, बिउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक संगीता चौधरीले बताइन् । उनले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताइन् । 

वडा नं. १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।