मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
२o८१ पौष १९ शुक्रबार १३:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १३:३१:oo

स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार १०१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा तीन हजार १२५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार ९७६ जनाले बढोत्तरी भएको छ ।

कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्यांकीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन् ।

सन् २०२४ को अगस्त १ तारिखबाट मात्र भारतले पानीट्यांकी नाका पर्यटकका लागि खुला गरेको थियो । पानीट्यांकी नाका खुला हुनासाथ नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठ बताउँछन् ।

‘कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भए पनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो,’ उनी भन्छन्, ‘उच्चस्तरीय पहलपछि अगस्तमा मात्र भारतले पर्यटकलाई आउजाउ गर्न अनुमति दिएको हो । त्यसपछि बल्ल पर्यटकीय आगमन पुरानै लयमा फर्किएको हो ।’

पूर्वीनाकाबाट केही वर्षअघिसम्म नेपाल आउने बंगलादेशी पर्यटकको संख्या बढी थियो । सन् २०२४ मा काँकडभिट्टाबाट स्थलमार्ग हुँदै चार हजार ९१६ भुटानी पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालयका सूचना अधिकारी राजवंशीले बताए ।

उनका अनुसार सन् २०२३ मा यही स्थलमार्ग भएर नेपाल प्रवेश गरेका भुटानीको संख्या दुई हजार ९३१ मात्र थियो । नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने गरेको छ । शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भुटानीहरू बढी संख्यामा नेपाल आउने गरेका हुन् । रासस