यही १९ डिसेम्बरमा लोकसभामा विपक्षी नेता राहुल गान्धीविरुद्ध दुईजना भारतीय जनता पार्टी (भाजपा)का सांसदलाई दिल्लीको अस्पतालको आइसियूमा भर्ना हुने गरी धक्का दिएर गम्भीर चोट पु¥याएको आरोपमा उजुरी (एफआइआर) दर्ता गरियो । त्यसैगरी, नागाल्यान्डकी एक महिला भाजपा सांसदले राहुल गान्धीले आफूलाई दुव्र्यवहार गरेको आरोप लगाइन् । यस घटनाले सत्तारूढ भाजपा र विपक्षबिचको तनावपूर्ण सम्बन्धलाई झल्काउँछ । यसअघि १८ डिसेम्बरमा राज्यसभामा गृहमन्त्री अमित शाहले बारम्बार अम्बेडकरको नाम लिनुलाई ‘फेसन’ भन्दै उपहास गरेका थिए जसले विपक्षी दललाई आक्रोशित बनायो । नतिजा संसद्बाहिर विरोध प्रदर्शन भयो । गान्धीका अनुसार संसद् प्रवेश गर्ने क्रममा भाजपाका सांसदले बाटो अवरुद्ध गरेका वेलामा भएको हुलमुलमा केही सांसदलाई चोट लागेको हो । र, कांग्रेसले पनि राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेसमेत धक्कामुक्कीमा परेर घाइते भएका थिए भन्ने दाबी गरेको छ ।
यी घटनाले सत्तारूढ भाजपा र विपक्ष विशेषतः कांग्रेसबिचको सम्बन्धमा रहेको चिसोपना नयाँ न्यूनतामा पुगेको संकेत गर्छ । यसअघि १७औँ लोकसभामा राहुल गान्धीलाई निलम्बन गरिएको थियो र सर्वोच्च अदालतको आदेशपछि मात्र संसद्मा उनको पुनस्र्थापना भएको थियो । सन् २०१४ देखि नरेन्द्र मोदीको नेतृत्वमा विपक्षले निरन्तर तिरस्कारको सामना गरिरहेको छ, जहाँ मोदीले संसद्मा बारम्बार भारतका प्रथम प्रधानमन्त्री नेहरूलाई निसाना बनाउने गरेका छन् । यसबाहेक भाजपा सामाजिक सञ्जाल एकाइले राहुल गान्धीलाई ‘पप्पु’ भनेर उपहास गर्ने अभियान नै सञ्चालन गरिरहेको छ ।
स्वतन्त्रतापछिको विपक्ष : भारतको विपक्षी राजनीतिले १९५१–५२ को पहिलो आमचुनावपछि विभिन्न उतारचढाव अनुभव गरेको छ । सन् १९५० मा संविधान लागू भएपछि नेहरूको नेतृत्वमा कांग्रेसले राजनीतिको सुरुवाती चरणमा प्रभुत्व जमायो । नेहरूले लोकतन्त्रलाई सबल बनाउन विपक्षी दललाई प्रोत्साहन गरे । आफ्नै दलभित्रका समूहलाई पनि उनले विपक्षको भूमिकामा सक्रिय गराएका थिए । नेहरू आफैँले सन् १९३७ मा चाणक्य नामको छद्म नाम प्रयोग गर्दै पार्टीमा मौलाउन सक्ने अधिनायकवादी प्रवृत्तिको खतराबारे चेतावनी दिएका थिए र प्रधानमन्त्री बनेपछि उनले लोकतान्त्रिक मूल्यप्रतिको आफ्नो त्यो प्रतिबद्धतालाई प्रमाणित गरेका थिए ।
उनको यो प्रतिबद्धता मृत्युपर्यन्त कायम रह्यो । उनले राममनोहर लोहिया, आचार्य कृपलानी र पिलु मोदीजस्ता विपक्षी नेतालाई सम्मानपूर्वक व्यवहार गरेका थिए । भाजपाका प्रख्यात नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीले नेहरूको निष्पक्षताको निकै प्रशंसा गरेका थिए । नेहरूले बाजपेयीलाई एक प्रतिभाशाली युवा नेता भन्दै विभिन्न विदेशी प्रतिनिधिसँग परिचय गराएका थिए र सन् १९६१ मा राष्ट्रिय एकता परिषद्को सदस्यमा पनि समावेश गरेका थिए । नेहरूको आलोचना हुँदा वाजपेयीले उनलाई समर्थन गरेका थिए र उनको निधनमा भावुक हुँदै, ‘एक सपना चकनाचुर भयो, एउटा गीत मौन भयो, एउटा ज्योति अनन्तमा बिलीन भयो,’ भनेका थिए ।
इन्दिरा गान्धीको शासनकालमा सरकार र विपक्षको सम्बन्ध यथावत् नरहे पनि उनले वरिष्ठ विपक्षी नेतासँग, विशेषतः वाजपेयीसँग परामर्श लिइरहन्थिन् । राजीव गान्धीले वाजपेयीलाई स्वास्थ्योपचारका लागि अमेरिका जान सहज होस् भनेर राष्ट्र संघको एक आधिकारिक प्रतिनिधिमण्डलमा उनलाई समावेश गरेका थिए । पिभी नरसिम्हा रावको कार्यकालमा वाजपेयीलाई संयुक्त राष्ट्र मानव अधिकार आयोगको विशेष सत्रमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्न पठाइएको थियो, जहाँ उनले जम्मु कस्मिरमा मानव अधिकार उल्लंघन भयो भन्दै भारतको निन्दा गर्न पाकिस्तानले अघि सारेको प्रस्तावको सफलतापूर्वक खण्डन गरेका थिए । सन् १९९० को दशकदेखि विपक्ष अझ बलियो बन्यो यस क्रममा क्षेत्रीय र राज्यस्तरीय पार्टीले लोकसभामा लगभग एकतिहाइ स्थान ओगटे र सन् १९८९ देखि गठबन्धन सरकार बन्न थाले । यद्यपि, सम्बन्ध प्रतिस्पर्धात्मक र सन्तुलित दुवै रह्यो ।
सन् २०१४ यता : सन् २०१४ पछि भारतमा सरकार र विपक्षबिचको सम्बन्ध असामान्य रूपमा शत्रुतापूर्ण बनेको छ । प्रधानमन्त्रीले प्रायः आफ्नो भाषण नेहरूको आलोचनाबाट सुरु गर्छन् र त्यसपछि कांग्रेसमाथि लान्छना लगाउँछन् । उनले कैयौँपटक नेहरूले सरदार पटेल र अम्बेडकरजस्ता महŒवपूर्ण राष्ट्रिय नेतासँग गरेको व्यवहारलाई पनि विकृत ढंगले प्रस्तुत गरेका छन् । नीतिगत एवं सैद्धान्तिक भिन्नतामा झुट र अर्धसत्य मिश्रण गरेर नेहरूलाई आधुनिक भारतीय राजनीतिमा सबैभन्दा ठुलो खलनायकका रूपमा चित्रित गर्न खोजिन्छ । यसले संसदीय लोकतन्त्रका लागि अस्वस्थ वातावरण सिर्जना गरेको छ ।
दोस्रो, संसद्का दुवै सदनका अध्यक्ष विपक्षी दलको उपेक्षा मात्र नगरी सरकार वा प्रधानमन्त्रीको आलोचना गर्ने कुनै पनि वक्तव्यलाई रेकर्डमा नराख्न निर्देशन दिने गर्छन् । राज्यसभा अध्यक्ष जो देशका उपराष्ट्रपति हुन् र पदाधिकारीका रूपमा यो जिम्मेवारी सम्हाल्छन्, उनी आफ्नो तटस्थ एवं पार्टीनिरपेक्ष भूमिकालाई भुल्छन् । उनी प्रायः ‘केही पनि रेकर्डमा जान्न’ भन्ने गर्छन् । दुवै सदनका अध्यक्षले संवैधानिक कार्यकारीको भूमिका ननिभाई पार्टी सदस्यका रूपमा काम गरिरहेका छन् ।
भारतीय संसद्को इतिहासमा सबैभन्दा खराब घटना सन् २०२३ को डिसेम्बरमा भयो जब ९५ जना लोकसभा र ४६ जना राज्यसभाबाट गरी एक सय ४१ जना सांसदलाई सदनबाट निलम्बित गरिएको थियो । यो निलम्बनमा कांग्रेस नेता राहुल गान्धी पनि परेका थिए । यति लेख्दै गर्दा पनि प्रधानमन्त्री विपक्षको महत्वलाई बुझ्नेछन् र अन्य नेताबाट नभए पनि अटल बिहारी वाजपेयीबाट प्रेरित हुनेछन् भन्ने अपेक्षा गरौँ ।
(मेहरा भारतीय राजनीतिशास्त्री एवं शोधकर्ता हुन्)
द वायरबाट