नेपाली पर्यटन क्षेत्रका लागि सन् २०२४ कस्तो रह्यो ?
समग्रमा हेर्दा राम्रै भयो । पर्यटक आगमन १३ प्रतिशतले बढेको छ । यो भनेको लगभग ‘रिकभरी’को अवस्था हो । युएन टुरिजमको तथ्यांकअनुसार ग्लोबल टुरिजम रिकभरी ९७ प्रतिशत पुगेको छ । हाम्रो ९६ प्रतिशतको हाराहारीमा रिकभरी हुनु सकारात्मक नै मान्नुपर्छ । त्यसमा पनि एसिया–प्रशान्त क्षेत्रको रिकभरी ८५ प्रतिशत भएको अवस्थामा हाम्रो स्थिति राम्रै मान्नुपर्छ । यसमा अझै राम्रो हुन सक्थ्यो । तर, भारतीय पर्यटक बोकेका बस दुर्घटनामा पर्नुले भारतीय पर्यटकको संख्यामा उल्लेख्य कमी आयो । उता चीनियाँ पर्यटक बोकेको हेलिकोप्टर र सौर्य एयरको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षाबारे प्रश्न उठेपछि चीनियाँ र अन्य पर्यटक आगामनमा समेत नकारात्मक प्रभाव पर्यो । यसका साथै, दशैँअघि गएको बाढी, पहिरोका कारण धेरै बुकिङ रद्द भए । यसले पनि हामीकहाँ पर्यटक आगमनमा कमी आयो ।
उत्तर र दक्षिणका पर्यटक किन बढ्न सकेनन् ?
उत्तर र दक्षिणसित हाम्रो एयर कनेक्टिभिटीमै समस्या छ । हाम्रो आफ्नो भरपर्दो वायुसेवा छैन । नेवानिका विमान नियमित छैनन् । यसले गर्दा पनि हामीकहाँ आउने हवाई भाडा महँगो छ । दिल्लीबाट काठमाडौं आउने हवाई भाडामा दिल्लीबाट फ्रान्स पुगेर दिल्ली नै फर्किन पुग्छ भने को आउँछ यहाँ ? अनि, हाम्रा यहाँका राजमार्गहरूको दुरवस्थाले गर्दा पनि पर्यटक आउन चाहँदैनन् ।
घोषित पर्यटक दशकको उद्देश्य के हो ?
दश वर्षको लक्ष्य तयार गरी पर्यटन क्षेत्रलाई माथि उठाउने उद्देश्यले यो पर्यटक दशक घोषणा गरिएको हो । यसका सफलताका लागि संघ र प्रदेश सरकार मिलेर काम गर्ने तथा पूर्वाधार विकाससँगै सातै प्रदेशमा पर्यटन प्रवर्धन गर्ने लक्ष्य छ । यसको अन्त्यसम्ममा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ कार्यविधि र कार्ययोजना तयार हुँदै छ ।