
सन् १९७८ को डिसेम्बरमा अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले विदेशमा अमेरिकी रणनीतिक निर्णयहरू मानव अधिकारको पालनाद्वारा आकार दिनुपर्छ भन्ने आफ्नो विश्वासलाई रेखांकित गरे । ‘मानव अधिकार हाम्रो विदेश नीतिको आत्मा हो । किनभने मानव अधिकार हाम्रो राष्ट्रियताको भावनाको आत्मा हो,’ यही २९ डिसेम्बरमा १०० वर्षको उमेरमा निधन भएका कार्टर बारम्बार भन्ने गर्थे । उनको विचार सदैव सान्दर्भिक देखिन्छ ।
विदेश मामिलामा अमेरिकी राष्ट्रपतिको रूपमा कार्टरको एक कार्यकाल (१९७७–१९८१) मा केही उल्लेखनीय उपलब्धि भएका थिए । सबैभन्दा महत्वपूर्ण उपलब्धि सन् १९७८ मा भएको ऐतिहासिक क्याम्प डेभिड सम्झौता थियो । कार्टर, इजरायली प्रधानमन्त्री मेनाकेम बेगिन र इजिप्टका राष्ट्रपति अनवर सादातले एक सम्झौतामा हस्ताक्षर गरे, जसमा बेगिन इजिप्टसँग शान्ति र पूर्ण कूटनीतिक सम्बन्धको बदलामा १९६७ को ६ दिने युद्धमा इजरायलले कब्जा गरेको सम्पूर्ण सिनाई प्रायद्वीप त्याग्न सहमत भयो । यसले अमेरिकी कूटनीतिको शक्तिमा कार्टरको विश्वास र अमेरिकी राष्ट्रपतिहरूले शान्ति स्थापनाको कठिन कार्यलाई साहसका साथ किन ग्रहण गर्नुपर्छ भन्ने उदाहरण दिन्छ ।
पच्चीस वर्षपछि र दोस्रो खाडी युद्धको पृष्ठभूमिमा कार्टरलाई उक्त सम्झौतामा उनको भूमिकाको लागि मान्यता दिइयो र २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरियो । राष्ट्रपति जर्ज डब्लु बुसले इराकमा आक्रमण गर्ने योजना बनाइरहेका वेला ‘पूर्वराष्ट्रपति जिमी कार्टरलाई शान्ति वार्ता, मानव अधिकारका लागि अभियान र सामाजिक कल्याणका लागि काम गरेकोमा शान्ति पुरस्कार प्रदान गरिएको,’ नोबेल समितिले बतायो । ‘अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न, लोकतन्त्र र मानव अधिकारलाई अगाडि बढाउन र आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्नका लागि कार्टरको दशकौँको अथक प्रयासको कदरस्वरूप यो पुरस्कार दिइएको समितिले बतायो ।
सन् १९८१ को जनवरीमा पद छोड्दा कार्टरले सबैभन्दा महत्वपूर्ण विषय र कारणमा संलग्न हुन पूर्वराष्ट्रपतिको रूपमा आफ्नो पोजिसन प्रयोग गर्न खोजे । उनले व्यक्तिगत कूटनीतिको आफ्नै मार्ग पछ्याउन कार्टर सेन्टर स्थापना गरे । सन् १९८२ देखि सुरु भएको सेन्टरले ३९ देशमा एक सय दशभन्दा बढी निर्वाचनको अनुगमन गरेको छ । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको अगाडि र तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प शान्तिपूर्ण संक्रमणका लागि प्रतिबद्ध हुन अस्वीकार गर्दा कार्टर सेन्टरले अमेरिका प्रतिगमनतर्फ बढेको टिप्पणी गर्यो ।
नैतिक कूटनीति
एक निष्ठावान् इसाईका रूपमा कार्टरले पूर्वविश्व नेतासँग प्रजातन्त्र र मानव अधिकारको प्रवर्द्धन गर्न, रोगहरूको उन्मूलनमा वैज्ञानिक कार्यको समर्थन गर्न र द्वन्द्व रोक्न सम्भव भएसम्म मध्यस्थताका लागि आफ्नो व्यक्तिगत सम्बन्धको अधिकतम उपयोग गरे । कार्टरको सक्रियतालाई उनका ह्वाइट हाउसका केही उत्तराधिकारी (दुवै रिपब्लिकन र डेमोक्य्राटहरू)ले सधैँ सराहना गरेनन् । पूर्वराष्ट्रपतिको कूटनीतिको व्यक्तिगत ब्रान्डले समकालीन अमेरिकी कूटनीतिक पहललाई प्रायः जटिल र विरोधाभास बनाएको डार्टमाउथ कलेजका प्राध्यापक र्यान्डल बाल्मर बताउँछन् ।
कार्टर शान्ति प्रवर्द्धन, सामाजिक न्याय, जलवायु परिवर्तन र विश्वव्यापी मानव अधिकारमा काम गर्ने विश्वव्यापी नेताको स्वतन्त्र समूह द एल्डर्सका सदस्य थिए । आफ्नो सक्रिय सदस्यताका वर्षमा कार्टरले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा महत्वपूर्ण ऊर्जा समर्पित गरे । एल्डर्सको कामलाई समर्थन गर्न धेरै अवसरमा यस क्षेत्रको भ्रमण गरे । सन् १९९० को प्रारम्भमा पूर्वराष्ट्रपतिले अमेरिकी विदेश मन्त्रालय र उत्तर कोरिया र लिबियालगायत धेरै बदमास राज्यबिच मध्यस्थता कार्यमा संलग्न भए ।
सन् १९९४ मा कार्टरले उत्तर कोरियाली नेता किम इल सुङसँग बढ्दो तनावपूर्ण आणविक हतियारको अवस्था समाधान गर्न अमेरिकी सरकारको कूटनीतिक प्रयासलाई समर्थन गरे । कार्टरले जुन १९९४ मा किमसँग भेट गरे र उक्त देशको भ्रमण गर्ने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बने । उनको उक्त भ्रमणले उत्तर कोरिया र अमेरिकाबिचको द्विपक्षीय सम्झौताको आधार तयार पारेको छ । यो दुई देशबिचको सम्बन्धमा कोसेढुंगा साबित भएको छ । सम्झौताअनुसार उत्तर कोरियाले आफ्नो प्लुटोनियम हतियार कार्यक्रम फ्रिज गर्ने वाचा गर्यो भने अमेरिकाले प्योङयाङलाई भरपूर सहयोग गर्न सहमति जनायो ।
९० को दशकमा पनि उत्तिकै सक्रिय
कार्टरले आफ्नो ९० को दशकमा समसामयिक भूराजनीतिक घटनाबारे राम्रोसँग आफ्नो प्रस्ट धारणा राखे । सन् २०१८ मा ट्रम्पले ओबामा प्रशासनले सन् २०१५ मा गरेको इरान आणविक सम्झौताबाट न्युयोर्कलाई बाहिर निकाल्ने घोषणा गर्दा उनले खुलेरै आलोचना गरेका थिए । उनले ट्रम्पको कदमलाई ‘गम्भीर गल्ती’ भने । कार्टरले अमेरिकी राष्ट्रपतिले गरेको अन्तर्राष्ट्रिय सम्झौता आफ्ना सबै उत्तराधिकारीका लागि बाध्यकारी हुनु आवश्यक रहेको र इरान सम्झौताबाट पछि हटेर अमेरिकाले भूल गरेको टिप्पणी गरे ।
राष्ट्रपति कार्यालय छाडेपछि पूर्वराष्ट्रपति कार्टरका प्रमुख उपलब्धिमध्ये एक स्वास्थ्य सेवामा उनको सेन्टर (कार्टर सेन्टरको) योगदान थियो । विशेषगरी गिनी–वर्म (एक लामो परजीवी किरा, जुन ग्रामीण अफ्रिका र एसियामा संक्रमित मानिस र अन्य स्तनधारी जनावरको छालामुनि बस्छ) रोगको उन्मूलनमा कार्टर सेन्टरले महत्वपूर्ण योगदान दिएको छ । यो दूषित पानी पिउँदा हुने परजीवी संक्रमण हो । रोगको नतिजा घातक नभए पनि यसको संक्रमणले पीडितलाई कमजोर बनाउन सक्छ र कुनै अवस्थामा स्थायी संक्रमितमा अपांगता निम्त्याउन सक्छ ।
कार्टर सेन्टर एक लाख गाउँमा स्वास्थ्य सेवाकर्मीलाई तालिम दिन, शिक्षा कार्यक्रममा लगानी गर्ने र मानिसलाई परजीवीको संक्रमणबाट जोगाउन पानी फिल्टरहरू उपलब्ध गराउन प्रतिबद्ध छ । यस कार्यक्रमले धेरै सफलता प्राप्त गरेको छ । सेन्टरका अनुसार ‘गिनी वर्म रोगका केसहरू सन् १९८६ मा अनुमानित ३.५ मिलियनबाट घटेर सन् २०२३ को अन्त्यसम्ममा केवल १३ मा झरेको छ । यो रोग १७ देशमा निर्मूल भएको छ । मानव अधिकारप्रति जिमी कार्टरको प्रतिबद्धतामा कहिल्यै पनि कमी आएन । मानव अधिकार केन्द्रित विदेश नीतिको उनको अवधारणा विश्वव्यापी वार्तालापमा स्थायी रूपमा अंकित छ ।
रिचर्ड क्विन्स युनिभर्सिटी बेलफास्टको सेन्टर फर द स्टडी अफ एथनिक कन्फ्लिक्टमा भिजिटिङ रिसर्च फेलो हुन् ।
–द कन्भर्सेसनबाट