बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका आर्थिकमन्त्री सुनील यादवले सर्लाहीको हरिवनबाट सिन्धुलीको मरिण जोड्ने बाटोलाई स्तरोन्नति गर्ने विषयमा छलफल गरेका छन् । दुवै प्रदेशका मन्त्रीहरूले संयुक्त रूपमा उक्त सडक अवलोकन गर्दै मधेश प्रदेश भएर पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र बागमती प्रदेश भएर पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गलाई जोड्ने सडक सञ्जाल विस्तारको विषयमा सहमति जनाएका छन् ।
बागमती प्रदेशका आर्थिक मामिलामन्त्री काफ्लेले सर्लाहीको विष्णु गाउँपालिकाको हरिवनदेखि धिमिले र क्यानेश्वर हुँदै सिन्धुलीको मरिण गाउँपालिकासम्म जोड्ने सडकलाई व्यवस्थित र स्तरोन्नति गरी दुवै प्रदेशलाई जोड्ने छोटो दूरीको सडक सञ्जाल विस्तारको विषयमा छलफल भएको जानकारी दिए । उनले उक्त सडकखण्डलाई विस्तार गर्नसके मधेश प्रदेशदेखि बागमती प्रदेश हुँदै भारत र चीनलाईसमेत जोड्न सकिने बताए ।
‘मधेश प्रदेशको सर्लाहीको हरिवनदेखि बागमती प्रदेशको सिन्धुलीको मरिणसम्म करिब ३५ किलोमिटर सडकलाई स्तरोन्नति गरेर जोड्न सकिने देखियो । त्यसका लागि हरिवनबाट धमिले हुँदै मरिणको क्यानेश्वरसम्म १३ किलोमिटर र क्यानेश्वरदेखि मरिणसम्म २२ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्ने हुन्छ । दुवै प्रदेशले आफ्नो क्षेत्रमा पर्ने सडकलाई आवश्यक बजेट छुट्याएर काम थाल्ने सहमति भएको छ,’ उनले भने । यता मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवले पनि मधेश प्रदेशलाई बागमती प्रदेशका पहाडी क्षेत्रसँग जोड्न उक्त सडकखण्ड आवश्यक रहेको बताए ।