कबाडी व्यवसायी समाज नेपाल र आमजनता पार्टी (आजपा)ले आइतबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले मनोमानी कर लिइरहेको र काठमाडौं महानगरपालिकाले समेत कबाडी व्यवसायीमाथि ज्यादती गरेको भन्दै सयुंक्त विरोध प्रदर्शन गरेका हुन् ।
कबाड व्यवसायीहरूले पुतलीसडक–कमलादी–रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्। उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, महानगरका नगर प्रमुख राजु पाण्डेविरुद्ध नारा लगाए । काठमाडौं महानगरपालिकाले कबाडी तथा सडकपेटी व्यवसायीमाथि निर्मम व्यवहार गरेको कबाडी व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताले बताए ।
यस्तै, आजपा पार्टीको नेता कार्यकर्ताहरूले ‘कर आतंक बन्द गर, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन’ भन्ने जस्ता नारा लगाएका थिए । यसअघि पनि कबाडी व्यवसायीहरूले काठमाडौं महानगरविरुद्ध आन्दोलन गरेका थिए । महानगरपालिकाले कबाडी व्यवसायीलाई हटाउन खोजेको भन्दै उनीहरू एक वर्षयता निरन्तर प्रदर्शनमा छन् । व्यवसायीहरूले अव्यवस्थित तवरले कबाडी संकलन गरेको, दर्ता नगरी डिपो चलाएको, कर नतिरेको, साइकलमा कबाडी संकलन गर्दा सडकमा अवरोध पुगेकोलगायत कारण देखाउँदै महानगरले त्यसलाई रोक लगाउँदै आएको छ ।
महानगरले संकलन गरेका वस्तु जफत, डिपोमै पुगेर सामान खोस्ने गरेको व्यवसायीहरूको गुनासो छ । समाजका अध्यक्ष गुप्ताले आफूहरूको गुनासो सुन्नसमेत महानगर तयार नभएको बताए । यहीकारण व्यवसायीहरू एक भएर आन्दोलनमा उत्रिएको उनले जानकारी दिए । ‘काठमाडौं महानगरपालिकाले कबाडी व्यवसायीलाई निकै निरुत्साहित गरेको छ, गरिखानसमेत दिएको छैन, यो राम्रो होइन, हामी आन्दोलन चर्काउँदै जान्छौँ,’ उनले भने, ‘हामीले ठुलो माग गरेका होइनौँ, हाम्रो व्यवसाय बन्द नगर मात्रै भनेका हौँ ।’ यसअघि गत असारमा पनि कबाड व्यवसायीहरूले महानगरपालिका कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले २५ जनालाई पक्राउ गरेको थियो ।
एक वर्षअघि नै काठमाडौं महानगरपालिकाले कबाडी संकलन र डिपो हटाउन खोजेको थियो । त्यसवेला उच्च अदालत पाटनले महानगरको कदमविरुद्ध नहटाउन भन्दै ‘स्टे अर्डर’ दिएको थियो । उच्च अदालतले २ असारमा फेरि पनि तत्काल नहटाउन ‘स्टे अर्डर’ जारी गरेको थियो । तर, महानगरले उक्त आदेश बेवास्ता गर्दै डिपोमाथि डोजर चलाएको, सामान जफत गरेको व्यवसायीहरूको आरोप छ ।