बजेट अभावले कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वासमा निर्माण गरिएका भवन प्रयोगविहीन
तीन वर्षसम्म पनि रानाथारू संग्रहालय सञ्चालनमा नआउँदा साढे १३ करोड खर्चेर बनाइएका भवन जीर्ण बन्ने जोखिम बढेको छ । केन्द्र सरकारले कञ्चनपुरको पुनर्वासमा साढे ६ करोड र कैलालीको धनगढीस्थित राजपुरमा सात करोड खर्चेर बनाएका संग्रहालय सञ्चालनमा आउन सकेको छैन । यी दुई जिल्लामा मात्र बसोवास रहेको आदिवासी रानाथारू समुदायको संस्कृति संरक्षण गर्ने र आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले रानाथारू बस्तीमै संग्रहालय सञ्चालन गर्न भवन निर्माण गरिएको थियो ।
पुनर्वासमा साढे ६ करोडमा बनेको भवन जीर्ण हुने अवस्थामा पुगेको छ भने भवनपरिसर झाडीले छोपेको छ । जडान गरिएका सोलार बत्ती पनि काम नलाग्ने अवस्थामा पुगेका छन् । समयमै संग्रहालय सञ्चालनमा नआए राज्यको करोडौँ लगानी खेर जाने अवस्थामा रहेको संग्रहालय संरक्षण समितिका अध्यक्ष विश्राम रानाले बताए । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई रानाथारू संग्रहालय सञ्चालनका लागि पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए । ‘भवन बनाउने र वालमा केही पेन्टिङ गर्नेबाहेक अरू काम भएको छैन,’ रानाले भने, ‘रानाथारू समुदायको कला, संस्कृति, रहनसहन झल्कने सामान छैनन् ।’
पुनर्वास नगरपालिकाका उपमेयर भुलिया रानाले संग्रहालय सञ्चालनमा ल्याउनका लागि बजेटको अभाव रहेको बताइन् । संग्रहालय सञ्चालनमा ल्याउन करिब एक करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ । ‘त्यति धेरै बजेट पालिकाले विनियोजन गर्न सक्ने अवस्था छैन’ उनले भनिन्, ‘प्रदेश सरकारलाई आग्रह गरेका थियौँ, तर यस वर्ष पाँच लाख मात्र विनियोजन गरेको छ ।’ नगरपालिकाले संग्रहालय सञ्चालनको कार्यविधिसमेत बनाउन सकेको छैन । पुनर्वासमा संग्रहालय निर्माणका लागि स्थानीयले नै साढे तीन बिघा जग्गा उपलब्ध गराएका थिए ।
नगरपालिकाले संग्रहालय सञ्चालनको कार्यविधिसमेत बनाउन सकेको छैन । ‘पालिकाको थोरै बजेटले केही वाल पेन्टिङ गरिएको छ’ उपप्रमुख रानाले भनिन्, ‘कार्यविधि बनाउन खोज्दा संग्रहालय संरक्षण समितिले पनि सञ्चालनमा चाँसो दिएको छैन ।’
धनगढीमा नौ महिनाअघि नै उपमहानरलाई हस्तान्तरण
धनगढीको राजपुरमा संग्रहालय भवन गत वर्ष चैतमा उपमहानगरलाई संरचना हस्तान्तरण गरिएको थियो । तर, संग्रहालय सञ्चालनमा आएको छैन । चालू आर्थिक वर्षभित्रै संग्रहालय सञ्चालनको प्रक्रिया अगाडि बढाउने तयारी रहेको धनगढी उपमहानगरका डिभिजनल इन्जिनियर दीजराज भट्टले बताए । उपमहानगरले संग्रहालयका लागि चालू आवमा ३० लाख बजेट विनियोजन गरेको छ । ‘सञ्चालनको कार्यविधि बनाएर यसै वर्ष सुरु गर्ने भनेका छौँ,’ उनले भने । राजपुरका स्थानीय सबु रानाले संग्रहालय सञ्चालनमा आए आफूहरूको आयआर्जनमा पनि टेवा पुग्ने बताए । संग्रहालय चाँडो सञ्चालनमा ल्याउन उपमहानगरलाई आग्रह गरिएको उनले बताए । ‘संग्रहालय सुरु भए हाम्रो कला, संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार हुन्छ,’ राना कला, सांस्कृतिक मञ्चका उपाध्यक्षसमेत रहेका रानाले भने, ‘पर्यटक आउँदा यहाँ चहलपहल हुन्छ, व्यापार व्यवसाय बढ्छ, स्थानीय उत्पादन बिक्री हुन्छ ।’