मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
सैकत मजुमदार
२o८१ पौष १७ बुधबार ११:o१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा संस्कृति र योग्यताबिचको संघर्ष

Read Time : > 2 मिनेट
सैकत मजुमदार
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार ११:o१:oo

ट्रम्पनिकट प्रविधि धनाढ्यले प्रशिक्षित विज्ञान–प्रविधि पेसेवर र अमेरिकी भूमिमा आउन खोज्ने गरिब आप्रवासीबिचको विभाजनमा जोड दिँदै आएका छन् 

ट्रम्पको आउँदो नयाँ प्रशासनले एच–१बी भिसामा कडाइ गर्ने घोषणासँगै रिपब्लिकन पार्टीकै एक प्रभावशाली भारतीय मूलका नेता विवेक रामास्वामीले ‘हाम्रो अमेरिकी संस्कृतिले धेरै लामो समयदेखि सामान्यतालाई उत्कृष्टताभन्दा माथिल्लो स्थान दिएको’ तर अहिले ‘नाचगान कार्यक्रमको नृत्यांगनालाई गणित ओलम्पियाड विजेताभन्दा’ र ‘खेलाडीलाई विद्वत् प्राज्ञ’भन्दा बढी महत्व दिने गरिएको बताएका छन् । र, उनले यस्तो प्रवृत्तिले उत्कृष्ट इन्जिनियर उत्पादन हुन नसक्ने पनि बताएका छन् । अब यही बुझाइ भारतका सन्दर्भमा कल्पना गरिहेरौँ, अर्थात् भारतमा कुनै अल्पसंख्यक समुदायको प्रवासी राजनीतिज्ञले ‘भारतीय आफ्नो समय बलिउड र चाडपर्वमा बर्बाद गर्छन्, सडक, अस्पताल र व्यवसाय निर्माणमा ध्यान दिँदैनन्’ भनेको भए के हुन्थ्यो होला ?

रामास्वामीको टिप्पणीले ल्याएको हलचलबिच एच–१बी भिसा नीतिका एक आलोचकले समाज र राष्ट्रको औचित्य उपयोगितावादभन्दा धेरै परको कुरा हो भनेका छन् । उनले ‘सफलताका लागि सामाजिक अनुभव वा मनोरञ्जन त्याग्नुपर्ने दलिल गलत मात्र नभई हानिकारक पनि हो । त्यसैगरी सन्तुलन र इमानदारी दीर्घकालीन सफलताका मुख्य अंश हुन् । त्यसबाहेक आप्रवासी परिवारले टेलिभिजनको प्रयोगलाई सीमित गरेर विज्ञान–प्रविधि शिक्षामा प्राथमिकता दिएको भन्ने तपाईंको कथाले सफलताको संकीर्ण एवं रुढिवादी दृष्टिकोणलाई प्रोत्साहन गर्छ, जसले आमअमेरिकी परिवारले पालन गर्ने विविध सफलताको मार्गलाई बेवास्ता गर्छ’ भनेका छन् ।

संस्कृति र योग्यता एक–अर्काबाट स्वतन्त्र छन् भन्ने धारणा गलत हो । यस धारणालाई अमेरिकी कलेज भर्नासम्बन्धी विवादले स्पष्ट गर्छ । समाजशास्त्री जेरोम कराबेलले देखाएअनुसार सन् १९२० अघि हार्वर्ड, येल र प्रिन्स्टनजस्ता कलेजले शैक्षिक उत्कृष्टतालाई प्राथमिकता दिन्थे । तर, यहुदी विद्यार्थीको भर्ना संख्या बढ्दै जाँदा यहुदीविरोधी यहुदी भावना (एन्टी–सेमिटिज्म) उब्जिने कारण मानक ‘चरित्र’ जस्ता विषय पनि प्राथमिकतामा परे, जसले खेलकुद, अतिरिक्त क्रियाकलाप र ‘पुरुषत्व’जस्तो धारणामार्फत श्वेत एंग्लो–स्याक्सन आवेदकलाई प्राथमिकता दिने काम गर्‍यो । यसकारण गणित ओलम्पियाड विजेताको शैक्षिक क्षमता र खेलाडी वा नृत्यंगनाबिचको भिन्नता त्यति स्पष्ट भएन, जति सोचिन्छ ।

संस्कृति र योग्यताबिचको जटिल सम्बन्धले विश्वका विभिन्न क्षेत्र र विभिन्न कालखण्डमा समाजले मानिसमा रहेका कुन गुणलाई मूल्य दिने भन्ने निर्धारण गरेको छ । बहुमुखी बुद्धिमत्ता सिद्धान्तका प्रवर्तक हावर्ड गार्डनरले उल्लेख गरेअनुसार प्राचीन ग्रिकले शारीरिक कौशल, तर्कशक्ति र नैतिकताको प्रशंसा गर्थे, जबकि रोमका मानिस साहसलाई महत्व दिन्थे । इस्लामले पवित्र योद्धालाई आदर गथ्र्यो, र परम्परागत चिनियाँ समाजले संगीत, चित्रकला र सुलेखमा निपूण व्यक्तिलाई सम्मान गथ्र्यो । आजको जस्तो ‘बुद्धिमत्ता’ प्राचीन समाजमा प्रमुख गुण थिएन । वास्तवमा गार्डनरका अनुसार पछिल्ला केही शताब्दीमा मात्रै बुद्धिमान व्यक्तिलाई पश्चिमा संस्कृतिमा केन्द्रबिन्दु मानिएको हो ।

संस्कृति र योग्यताबिचको टकराव तब तीव्र हुन्छ, जब तिनमा लुकेको द्वन्द्व सार्वजनिक रूपमा बाहिर आउँछ । यस्तो द्वन्द्व चाहे नीति बहसमा होस् या मेटाभर्समा जहाँ पनि देखिन सक्छ । यो द्वन्द्व प्रायः सिमाना र आप्रवासनका मामिलामा पनि देखिन्छ, अहिले विशेषतः यो द्वन्द्व भारतका धेरै आप्रवासी पेसेवरलाई असर गर्ने एच–१बी भिसा नीतिमा झल्किन्छ । सन् २०२४ को चुनावको तयारीका दिनहरूमा डोनाल्ड ट्रम्पले हरेक प्रश्नको जवाफमा आप्रवासीलाई दोषी बनाउँथे र यसमा उनको समर्थन गर्नेहरूमा प्राविधिक अर्बपति थिए र तिनले आप्रवासनमा जातिवादको प्रवद्र्धन गरेका थिए । यी अर्बपतिले अत्यधिक प्रशिक्षित विज्ञान–प्रविधि पेसेवर र अमेरिकी भूमिमा आउन खोज्ने गरिब आप्रवासीबिच विभाजनको पक्षमा जोड दिएका थिए । अहिले सर्सर्ती हेर्दा ट्रम्पले एलन मस्कको पक्ष लिएका छन् र मस्कले उच्च योग्यता प्रदर्शन गर्ने आप्रवासीका पक्षमा आफ्नो प्रभाव प्रयोग गर्ने वचन दिएका छन् । किनभने, यी योग्य प्राविधिक आप्रवासीविना सिलिकन भ्यालीजस्ता व्यापार एवं नवप्रवर्तन केन्द्र ठप्प हुन सक्छन् । वास्तवमा यो नीति एक लोकरिझ्याइँवादी तानाशाहको सबैभन्दा ठुलो गुण हो । अर्थात्, त्यो तानाशाह जो गरिब श्वेत मानिसको अप्रसन्नतामा आधारित भएर निर्वाचित भएको छ र विशेषज्ञतामा व्यापक अविश्वास गर्छ । र, यो तानाशाह आधुनिक युगको सबैभन्दा विभाजित अपार्थाइड सत्ता (दक्षिण अफ्रिका) बाट आप्रवासन गरेका एक बहुअर्बपतिद्वारा समर्थित छ, जसलाई भारतजस्तो विभाजित देशबाट उच्च–प्रशिक्षित कुलीनले समर्थन गरेका छन् । 

अमेरिकी राष्ट्रपति पदका लागि सधैँ उच्च बौद्धिकता, प्रशिक्षण वा शिक्षित भएको हुन आवश्यक छैन र लोकतन्त्र मुलुकमा नेता पढेलेखेकै हुनुपर्छ भन्ने छैन । मेरा अमेरिकी मित्रले गर्ने गरेको डान क्वाइलका ठट्टालाई म अझै राम्रोसँग सम्झिन्छु । यो ठट्टा यथार्थ हो वा अफवाह थाहा छैन, तर जब उनले राष्ट्रपति सिनियर बुसलाई अमेरिकीले निश्चित रूपमा ल्याटिन भाषा सिक्नुपर्छ भनेका थिए । ठट्टा गर्दै यदि यसो भए ल्याटिन अमेरिकीसँग अमेरिकीले स्वतन्त्र रूपमा ‘संवाद’ गर्न सकून् वा अर्को दशकभित्र अमेरिका ‘सौर्यमण्डल’मा अन्तरिक्षयात्री पठाउन सकून् भनेका थिए । तर, ट्रम्प र मस्कको सम्बन्ध त्यो अवस्थाभन्दा निकै अगाडि बढिसकेको छ । गरिब श्वेत मतदाताको आध्यात्मिक समर्थनबाट ट्रम्पले उच्च प्रविधि पेसेवरबाट वास्तविक प्रशासनिक शक्ति प्राप्त गर्ने तयारी गरेको देखिन्छ । अर्थात्, खेलकुदको समर्थनमा प्राविधिक नेतृत्व देख्न सकिनेछ ।

(मजुमदार भारतीय उपन्यासकार हुन्) द इन्डियन एक्सप्रेसबाट