श्रीलंकाका लागि नेपाली राजदूतमा डा. पूर्णबहादुर नेपाली अनुमोदित भएका छन् । मन्त्रिपरिषद्ले ६ मंसिरमा कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिका– २ निवासी नेपालीको नाम श्रीलंकाको राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा सिफारिस गरेको थियो ।
सुनुवाइ प्रक्रिया सम्पन्न गरेर समितिले आइतबार नेपालीलाई श्रीलंकाको राजदूतमा सर्वसम्मत अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै नेपालीलाई राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्नेछन् । त्यसपछि उनले कोलम्बोस्थित नेपाली दूतावासमा कार्यभार सम्हाल्नेछन् । डा. नेपालीले दलित समुदायबाट प्रतिनिधित्व गर्छन् ।
यसअघि श्रीलंकाका लागि सिफारिस भएका रामकृष्ण भट्टराई राजदूतका लागि चाहिने स्नातक योग्यता नपुगेपछि अस्वीकृत भएका थिए । उनको ठाउँमा सरकारले दलित समुदायको प्रतिनिधित्व गर्दै नेपालीलाई सिफारिस गरेको थियो ।