४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस
कांग्रेस नेताहरूले बिपी कोइरालाको नीतिअनुसार नै मुलुकको राजनीति सञ्चालन भइरहेको बताएका छन् । ‘४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा मंगलबार आयोजित विभिन्न कार्यक्रममा कांग्रेस नेताहरूले बिपीको मेलमिलाप नीतिको सान्दर्भिकता स्मरण गर्दै बहुदलीय व्यवस्था सुदृढ गर्नुको विकल्प नरहेको बताएका हुन् ।
कांग्रेसले मेलमिलाप दिवसको अवसर पारेर मंगलबार ‘सयदिने विशेष अभियान’को समापन गरेको थियो । क्षेत्रपाटीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालालगायत नेताहरू ज्यान दाउमा राखेर नेपाल फर्किएपछि सोही नीतिअनुसार राजनीति घुमिरहेको बताए । उनले गणतन्त्रलाई सफल र विश्वसनीय बनाउन कांग्रेसले अग्रसरता लिई सबैलाई एकजुट बनाउनु आवश्यक रहेको बताए ।
गणतन्त्रलाई सफल र स्थायी बनाउन सुदृढ बनाएर जानुको विकल्प नरहेको उनको भनाइ थियो । ‘गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु सबैको कर्तव्य हो । गणतन्त्र स्थायी हुन्छ, तर सुदृढ गर्दै जानुपर्छ । अहिले नेपालीबिच एकता आवश्यक छ,’ उनले भने, ‘मेलमिलाप नीति कांग्रेसका लागि मात्र नभई देशभरका लागि हो । राष्ट्रिय मेलमिलाप गर्न कांग्रेसले अग्रसरता लिनुपर्छ ।’
कांग्रेस संस्थापक बिपी कोइराला १६ पुस ०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्केको दिनको सम्झनामा सो दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।
निर्धारित समयमै महाधिवेशन हुन्छ : गगन थापा
कांग्रेस महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित मितिमै हुने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित मेलमिलाप दिवस कार्यक्रममा उनले प्रतिबन्धित समयमा समेत कांग्रेसले महाधिवेशन गरेको स्मरण गर्दै समयमै महाधिवेशन हुने दाबी गरे । ‘पार्टीका मञ्चहरूमा र केन्द्रीय समितिमा ०८४ को चुनाव र १५औँ महाधिवेशनबारे कुरा गर्छौँ । १५औँ महाधिवेशन हुन्छ, रुवाबासी नगरौँ । प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ,’ उनले भने, ‘को नेतृत्वमा आउने कुरा समयमा सोचौँला । अहिले ०८१ मा छौँ । काम गर्ने हो, ०८४ को चुनावको चिन्ता अहिले गर्ने होइन ।’
थापाले सहकारी ठगीमा संलग्ग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । जुनसुकै पार्टी र पार्टीको जुनसुकै तहमा रहेको व्यक्ति भए पनि सबैका लागि कानुन बराबर हुने र दोषी देखिए कारबाहीको भागीदार हुनुपर्ने उनले बताए । ‘कानुन सबैका लागि बराबर हुन्छ । कसैले सहकारी ठगी गर्छ भने प्रहरीले पाता फर्काएर कारबाही गर्छ,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, कांग्रेसको नेता, कांग्रेसको पदाधिकारी कोही सहकारी ठगीमा देखिन्छ भने पाता कसेर लैजानुस् ।’