मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
तिवारी यादव वीरगन्ज
२o८१ पौष ८ सोमबार १७:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाको नियमित कार्यपालिका बैठक बस्न छाड्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १७:o४:oo

वीरगन्ज महानगरपालिका कार्यालयमा चालू आर्थिक वर्ष ०८१/८२ को पाँच महिनामा एकपटक मात्र कार्यपालिका बैठक बसेको जनप्रतिनिधिहरूले बताएका छन्। महानगरमा प्रत्येक महिनामा एकपटक अनिवार्य बस्ने भनिएको कार्यपालिका बैठक पाँच महिना बितिसक्दा पनि एकपटक मात्र बसेको उनीहरूले बताएका हुन्। 

करिब दुई महिनाअगाडि कात्तिक २६ मा एकपटक कार्यपालिका बैठक मात्र बसेको वीरगन्ज महानगरपालिका २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले जानकारी दिए। उनका अनुसार नगर विशेष सभा पुसभित्रमा गराउनुपर्ने भए पनि अहिलेसम्म बैठक बसाउन खासै तयारी नभएको गुनासो गरे। 

गत कात्तिकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको सरुवा भएपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउनलाई कार्यपालिका बैठकमा सहमति गराउन बैठक बसेको परागले बताए। 

गत महिनाको अन्तिम सातामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कर्ण अहिले कार्यपालिका बैठक बसाउनुभन्दा पनि महानगरको शाखामा नीति र नियम कार्यान्वयनको कार्यमा लागेको कर्मचारी स्रोतले जनाएको छ। 

स्रोतका अनुसार कर्ण प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी पाएदेखि पुस मसान्तसम्म नगर विशेष सभा गराउन तयारीमा नरहेको अवस्था छ। उनी अहिले वडा र शाखामा कर्मचारी अभाव भएको गुनासो बढेको गुनासो सुन्दै वडास्तरीय बैठकमा सहमति गराएर पत्र माग गरिरहेका छन्।  साथै, कर्मचारी अभाव भएको शाखा र वडामा सहमतिपत्रको आधारमा कर्मचारीहरू पठाउने मात्र विभिन्न शाखा र वडाका जनप्रतिनिधि नै बताउने गरेका छन्। 

वीरगन्ज महानगरपालिका गत आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न भएको विकास निर्माणदेखि विभिन्न कार्यक्रमको भुक्तानी पनि रोकिएको अवस्था रहेको कर्मचारीहरूले बताएका छन्।महानगरपालिका लामो समयदेखि विभिन्न शाखामा कार्यरत रहेका करारका कर्मचारीहरूले पनि केही महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले असोज महिनापछि करारका कर्मचारीहरूको म्याद थप नभएको बताए। साथै, कार्यपालिका बैठक बसाउन आवश्यकता भएको समयमा अनिवार्य बैठक बस्ने उनले बताए।