मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि नागरिकका लागि खुला गरिएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट नागरिकका लागि खुला गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै सञ्चालनको लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन्। प्रदेश सरकारले २०७८ वैशाख १९ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडाैं स्युचाटारसँग सुरुङमार्ग पुनर्निर्माणको सम्झौता गरी काम सुरु गरेको थियो। प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जीर्णोद्धार गरेको हो। सुरुङमार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ। २०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको उक्त सुरुङमार्ग यस वर्ष सञ्चालनमा ल्याइएको हो।
सुरुङमार्ग सञ्चालनको मोडालिटी र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो। उपमहानगरपालिकाले तयार गरेको कार्य विधिअनुसार सुरुङमार्ग अवलोकन गर्न नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ५ वर्षमुनिका बालबालिका, अपांग र जेष्ठ नागरिकलाई निःशुल्क गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ’चुरियामाई सुरुङ’ बिच भागमा भासिएको थियो।