जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन जीवनभर अध्ययन, अध्यापन र अनुसन्धानमा सक्रिय रहे । उनी आफूलाई जहिल्यै विज्ञानका एक सामान्य विद्यार्थी ठान्थे । भौतिक शास्त्रमा जतिसुकै ठुला सफलता पाए पनि उनी जीवनमा आफूलाई अझै सिकारु विद्यार्थीकै कोटीमा राख्थे । उनै आइन्स्टाइन एकपटक एउटा होटेलमा मध्याह्नतिर खाजा खान व्यस्त थिए । उनी एक्लै त्यहाँ पुगेका थिए । उनको सामुन्ने एउटा खाली कुर्सी थियो । केहीबेरमै एक युवती त्यहाँ आइपुगिन् र आइन्स्टाइनको अनुमति लिएर उनी त्यही खाली कुर्सीमा बसिन् । तर, उनले आइन्स्टाइनलाई भने चिनिनन् ।
युवतीले मगाएको खाजा आइपुगेको थिएन । त्यसैले उनले आइन्स्टाइनसित भलाकुसारी सुरु गरिन् । आइन्स्टाइनले पनि खाजाको स्वाद लिँदै उनका प्रश्नको जवाफ दिँदै गए । युवतीले आइन्स्टाइनलाई प्रश्न गरिन्– तपाईं के गर्दै हुनुहुन्छ आजकल ? आइन्स्टाइनले जवाफ दिए– म फिजिक्सको पढाइ गर्दै छु । आइन्स्टाइनको जवाफ सुनेर युवती चकित परिन् । उनले आइन्स्टाइनको शिरदेखि पाउसम्म नियालिन् र आश्चर्यको भावसाथ प्रश्न गरिन्– बाफ रे बाफ ! कपाल फुलेर सेतै भइसक्यो, अनुहारमा चाउरी परिसक्यो, तैपनि तपाईं भर्खर फिजिक्सको अध्ययन गर्दै हुनुहुन्छ ? हेर्नुहोस्, मैले त गत वर्ष नै फिजिक्सको अध्ययन पूरा गरिसकेँ । तपाईंले कहिले आफ्नो अध्ययन पूरा गर्नुहुन्छ ? अनि यो उमेरमा आएर पढाइ सकेपछि तपाईं गर्नुहुन्छ चाहिँ के ? आइन्स्टाइनले मन्द मुस्कानसाथ जवाफ दिए– हेर्दै जाऊँ, जे सकिएला, त्यही गर्नुपर्ला ।