राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्टले झापा कपको पहिलो ह्याट्रिक गरेपछि एनआरटीले चित्लाङलाई ५–१ ले हरायो
कप्तान अञ्जन विष्टले ह्याट्रिकको सहयोगमा न्युरोड टिम (एनआरटी)ले पहिलो झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिहीबार भएको क्वार्टरफाइनलमा चित्लाङ फुटबल क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै एनआरटी अन्तिम चारमा पुगेको हो । ९१ वर्षको इतिहास बोकेको फुटबल क्लब एनआरटीले फाइनल प्रवेशका लागि शनिबार जागृति क्लब इटहरीसँग खेल्नेछ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा एनआरटीका लागि शिशिर लेखी र नेमारले समान एक गोल गरेका थिए । चित्लाङका जनक कोइरालाले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा अञ्जनले एनआरटीलाई १–० को अग्रता दिलाए । डिबक्समा अनमार्कमा रहेका अञ्जनले विदेशी खेलाडी नेमारको क्रसमा उत्कृष्ट गोल गरेका हुन् । खेलको ३६औँ मिनेटमा अञ्जनले पेनाल्टीमा एनआरटीलाई २–० को स्थितिमा राखे ।
चित्लाङका गौरव श्रेष्ठले अञ्जनलाई डिबक्समा लडाएपछि पेनाल्टी पाएको थियो । जसलाई अञ्जनले नै पेनाल्टी सदुपयोग गर्दै गोल गरे । खेलको ४२औँ मिनेटमा चित्लाङले २–१ का लागि गोल गरेको थियो । जनकले एनआरटीको कमजोर डिफेन्सको फाइदामा टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । खेलको ६५औँ मिनेटमा नेमारले एनआरटीलाई ३–१ को स्थितिमा राखे ।
खेलको ६८औँ मिनेटमा शिशिरले एनआरटीलाई ४–१ को बलियो स्थितिमा पु¥याए । खेलको ८८औँ मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गरे । उनले यसपटक पेनाल्टीमा गोल गरेका हुन् । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले एनआरटीका कप्तान अञ्जनलाई डिबक्समा लडाएका थिए । अञ्जनले पेनाल्टीमा गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका हुन् ।
उत्कृष्ट लयमा एनआरटी
इलाम गोल्डकपको उपाधि जितेको एनआरटी उत्कृष्ट लयमा देखिन्थ्यो । काठमाडौं जिल्ला लिग विजेता टिम चित्लाङलाई खेल अवधिभर एनआरटीले दबाबमा राखेको थियो । चित्लाङले पहिलो हाफमा मात्र एनआरटीमाथि केही दबाब राखेको थियो । मध्यान्तरपछि एनआरटी खेलमा हाबी भएको देखिन्थ्यो । मैदानमा कमजोर देखिएको चित्लाङले एनआरटीविरुद्ध फिनिसिङ बलियो पार्न सकेन । सुरुदेखि चित्लाङले डिफेन्सिभ रणनीति अपनाएको थियो ।
खेलको २८औँ मिनेटमा एनआरटीका शिशिरले एकल प्रयासमा चित्लाङका गोलरक्षक कोभासीविरुद्ध वान भर्सेज वानमा गोल गर्न सकेनन् । खेलको २९औँ मिनेटमा अञ्जनको प्रहार बारमा लागेको थियो । शुक्रबारबाट सेमिफाइनल खेल हुनेछ । चर्च ब्वाइज युनाइटेड र सलहेश फुटबल क्लबबिच पहिलो सेमिफाइनल खेल हुनेछ ।