एकीकृत समाजवादीले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । महाधिवेशनको साढे पाँच महिनापछि नेताहरूले जिम्मेवारी पाएका हुन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा २६ मंसिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजन गरेको नेताहरूले बताएका छन् ।
कार्यविभाजनमा सम्मानित नेता झलनाथ खनाललले स्कुल विभागको जिम्मा पाएका छन् । कम्युनिस्ट पार्टीमा शक्तिशाली मानिने संगठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसाललाई दिइएको छ । अर्का वरिष्ठ नेता प्रमेश हमाललाई विदेश विभाग र घनेन्द्र बस्नेतलाई राजकीय मामिला विभागको जिम्मा दिइएको छ ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अनेमसंघ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इन्चार्जको जिम्मा दिइएको छ । सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मा दिइएको छ । युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएका छन् । महाधिवेशनपछि एकीकृत समाजवादीका केन्द्रीय नेताहरूको जिम्मेवारी तोकिएको हो । एकीकृत समाजवादीको महाधिवेशन गत असारमा भएको थियो ।
२४ सदस्यीय सचिवालय
बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव छन् । सचिवालयमा अध्यक्ष नेपालसहित सम्मानित नेता खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल, हमाल र घनेन्द्र बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू धर्मनाथप्रसाद साह, जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरू राजेन्द्र राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेश विश्वकर्मा र शेरबहादुर कुँवर छन् ।
प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल
एकीकृत समाजवादीले उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामप्रसाद यादव, धनप्रसाद गौतम, राजन राई सदस्य छन् । बैठकले २४ सदस्यीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय पनि गठन गरेको खतिवडाले जानकारी दिए ।