मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सामान्य सोधपुछसमेत नगरी फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय, मोरङमार्फत बिहीबार जिल्ला अदालत मोरङमा सहकारी ठगी मुद्दा दायर भएको हो। २६ जना प्रतिवादी बनाइएकोमा एकजनालाई मात्र पक्राउ गरिएको छ । मुख्य व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदिएको पीडितहरूको आरोप छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेद जोशीका अनुसार उमागौरी कृषि सहकारीको ठगीमा २० करोड ८८ लाख रुपैयाँ ठगीको बिगो कायम गरी २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । २५ जनालाई फरार प्रतिवादी बनाइएको छ । फरारमध्ये एक अञ्जलासमेत छिन् । उनी सहकारीकी पूर्वसञ्चालक हुन् । प्रहरीले पक्राउ गर्ने प्रयाससमेत नगरी उनीविरुद्ध मुद्दा दायर गरेको छ । यो सहकारी ठगीको अनुसन्धानमा प्रहरीमाथि सत्ताको दबाब पर्दै आएको थियो ।
‘अदालतबाट सुरुमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो,’ डिएसपी जोशी भन्छन्, ‘थप अनुसन्धानको क्रममा अन्य १६ जनाको पनि संलग्नता देखिएपछि २६ जनालाई प्रतिवादी बनाइएको छ ।’ इलाका प्रहरी कार्यालय, रंगेलीले सो सहकारी ठगीको अनुसन्धान गरेको थियो । सञ्चालक समिति सदस्य रोशन राजवंशीलाई मात्र पक्राउ गरेर मुद्दा दायर भएको छ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंहलाई मुख्य प्रतिवादी बनाइएको छ ।
अध्यक्ष रहेका रौनियारको लेखा समितिका सभापति पोखरेलसँग निकट सम्बन्ध छ । सोही आधारमा उनले श्रीमतीलाई सहकारीको सञ्चालक बनाएका थिए । सञ्चालकमा श्रीमती राखे पनि सहकारीको कारोबारमा अप्रत्यक्षमा उनको समेत संलग्नताको आशंका गरेका थिए । तर, प्रहरीले त्यसतर्फ अनुसन्धान गरेन ।
मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको सो सहकारी हाल बन्द छ । सहकारीले सर्वसाधारणबाट लिएको धितो बैंक तथा लुघवित्तमा राखी धनीलाई थाहै नदिई कर्जा लिएर सञ्चालकले नै प्रयोग गरी हिनामिना गरेका हुन् ।