बालक अष्टावक्र आफ्ना साथीहरूसित खेलेर घर फर्किए । घरमा उनकी माता मात्र थिइन् । उनले चारैतिर हेर्दा पितालाई नदेखेपछि मातासित प्रश्न गरे– माता, पिता कता जानुभयो ? माताले उत्तर दिइन्– राजा जनकको सभामा विद्वान्सित शास्त्रार्थ गर्न जानुभएको थियो, तर अझसम्म फर्किनुभएको छैन । म पनि चिन्ताले व्याकुल छु ।
आमाको भनाइ सुनिसकेपछि अष्टावक्रले भने– हजुर चिन्ता नगर्नुहोस् । म राजसभामै पुगेर बाबालाई साथमा लिएर फर्किनेछु । छोराको यस्तो कुरा सुनेर आमाले भनिन्– बाबु, तिमी अहिले बालकै छौ । राजसभामा तिम्रो प्रवेश सम्भव नहुन पनि सक्छ । त्यहाँ तिम्रो उपहास पनि हुन सक्छ । किनकि, तिम्रो शरीर आठ ठाउँमा टेढोमेढो छ । अष्टावक्रले भने– नडराउनुहोस् आमा ! म बाबासँगै छिट्टै फर्किनेछु ।
अष्टावक्र अथक प्रयासपछि राजसभामा प्रवेश गर्न सफल भए । उनी प्रवेश गर्नासाथ त्यहाँ उपस्थित विद्वान्हरू उनको टोढोमेढो शरीर देखेर गलल्ल हाँस्न थाले । उनीहरू यस्तो बांगोटिंगो शरीर भएको बालक हामीसित शास्त्रार्थका लागि यहाँ आएको भन्दै उनको उपहास गर्न थाले । तर, बालक अष्टावक्र उनीहरूको हाँसोदेखि कत्ति पनि विचलित भएनन् । उल्टै उनी पनि जोडले हाँस्न थाले ।
अष्टावक्र हाँसेको देखेर सभामा उपस्थित सबै विद्वान् आश्चर्यमा परे । राजा जनकले उनीसित यसरी हाँस्नुको कारण सोधे । अष्टावक्रले जवाफ दिए– महाराज, हजुरको राजसभा विद्वान्हरूबाट सुशोभित छ भन्ने मैले सुनेको थिएँ । तर, यो सब झुटो रहेछ । यहाँका कथित विद्वान् त ज्ञानको घमन्डमा डुबेका रहेछन् । यस्ता विद्वान् देखेर म हाँसिरहेको छु ।
अष्टावक्रले फेरि भने– महाराज हड्डी, रगत, मासु र छालाले बेरिएको शरीरमा देख्नलायक छ नै के ? तपाईं बताउनुहोस् त, के टेढो शरीरमा आत्मा पनि टेढै हुन्छ हो ? के नदी टेढो छ भन्दैमा उसको पानी पनि टेढै हुन्छ हो ? राजा जनक अष्टावक्रको वचनबाट निकै प्रभावित भए र उनले बालक अष्टावक्रलाई गुरु मानेर उनीबाट तत्वज्ञान प्राप्त गरे ।