मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २३ मंगलबार १७:४७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कुस्मिसेरा–राङखानी-नान्दुक सडक : तोकिएको समयमा सडक कालोपत्रे नभएपछि पूर्वाधार कार्यालय घेराउ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १७:४७:oo

चौथोपटक म्याद थप गर्दा पनि तोकिएको समयमा सडक कालोपत्रे नभएपछि स्थानीय आन्दोलित भएका छन । जिल्लाको कुस्मिसेरा-राङखानी-नान्दुक-बरेङ-गुल्मी-शान्तिपुर सडक खण्डअन्तर्गत जैमिनी नगरपालिका–१ कुस्मिसेरादेखि वडा नं. १० राङखानी नाम्दुकसम्मको १० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको काम समयमा सम्पन्न नहुँदा स्थानीय आन्दोलित भएका हुन।  

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी शर्मा क्याराभान जे.भी कम्पनीको लापर्बाहीको कारण सडक अलपत्र अवस्थामा परेको भनी स्थानियले पूर्वाधार विकास कार्यालय बागलुङ घेराउ गरेका छन्।  काम सुरु भएको पाँच वर्षसम्म पनि सडकको दुरावस्था सुधार नभएपछि स्थानीय नेपाली कांग्रेसका नेता भीम श्रीसको नेतृत्वमा संघर्ष समिति नै गठन गरी बागलुङको दक्षिणका सर्वसाधारण आन्दोलित भएका हुन्।

बारम्बार निर्माण व्यवसायी चन्द्र थकालीलाई स्थानीयदेखि पूर्वाधार विकास कार्यालय, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले समेत ताकेता गरे पनि सडक निर्माणको काम आगाडि बढ्न सकेको छैन । आगामी चैत्र मसान्तसम्म म्याद रहे तापनि सो अवधिमा काम सम्पन्न हुन कठिनाइ भएका कारण समयमा नै काम सम्पन्न गर्न दबाबस्वरूप दक्षिण बागलुङका नागरिक आन्दोलिन हुन परेको संघर्ष समितिका संयोजक श्रीस बताउँछन्। 

मुख्यमन्त्रीलाई समेत ध्यानाकर्षण
 संघर्ष समितिले यसअगाडि पनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कार्यालयमा नै पुगेर ज्ञापनपत्र बुझाउनुका साथै समयमा नै काम सम्पन्न गर्न ध्यानकर्षण गराएको थियो। तर, निर्माण कम्पनीले काम गर्ने लक्षण नदेखे पनि थप दबाबका लागि पूर्वाधार विकास कार्यालय नै घेराउलगायतका कार्यक्रम सञ्चालन गरिएको श्रीसले बताए ।

‘दुई वर्षमा निर्माणको काम सक्ने गरी सम्झौता गरेर जिम्मा लिएको कम्पनीले पाँच वर्षसम्म पनि देखिने गरी काम नथालेपछि संघर्ष गर्नुपरेको हो,' श्रीसले भने, ‘निर्माण व्यवसायी लामो समयदेखि सम्पर्कविहीन भई निर्माण कार्यमा देखाएको चरम लापर्बाही भयो, हामीले यसअगाडि यथाशीघ्र सडक स्तरोन्नति र कालोपत्रेको माग गर्दै १५ दिने अल्टिमेटमसहित मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पनि बुझायौँ, तर निर्माण व्यवसायी सम्पर्कमा आउनुभएन अहिले प्रतिनिधि पठाउनुभएको छ, तर काम भने सुरु भएको छैन।’ उनले सरकार र शक्ति केन्द्रको आडमा पटक-पटक म्याद थप्दै जाने प्रवृत्तिले सर्वसाधारणले सधैँ दुःख पाएको बताए । समयमा काम सम्पन्न नहुँदा यस क्षेत्रका सर्वसाधारणले हिउँदको समयमा धुलो र वर्षायाममा हिलोको सास्ती खेप्नुपरेको छ । 

५६ प्रतिशत वित्तीय प्रगतीको ५७ प्रतिशत भौतिक प्रगति 
पुर्वाधार विकास कार्यालय बागलुङका अनुसार उक्त सडक कालोपत्रे गर्ने गरी २०७६ असोज २७ गते सम्झौता भएको थियो ।  दुई वर्षमा काम सक्ने गरी सम्झौता भए तापनि चौथोपटक म्याद थप्दासम्म ५७.२० प्रतिशत भौतिक र ५६ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेशकुमार घिमिरेले बताए ।

२०७६ असोज २९ गते सोही सडकअन्तर्गतको पाग्जा सरंगी खण्डको जिम्मेवारी पाएको कर्ण बिल्डर्सले भने तोकिएको मितिभन्दा ६ महिना पहिलै काम सकेर हस्तान्तरण गरेको थियो । २४ करोड ५८ लाख ५७ हजार ८१७ रुपैयाँमा ठेक्का सम्झौता गरेको कम्पनीले १४ करोड ७३ लाख ३०९ रुपैयाँ भुक्तानी पाइसकेको छ । 

तोकिएको समयमा काम सक्ने निर्माण कम्पनीको दाबी

संघर्ष समितिले बिभिन्न आन्दोलनका कार्यक्रम गर्न थालेपछि निर्माण कम्पनीका प्रतिनिधि तेजराज शाहिले माघको पहिलो सातादेखि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । शाहीले माघको पहिलो साताबाट काम सुरु गरे चैत्र मसान्तमा नै भ्याउने र नभएको खण्डमा असार मसान्त सम्ममा काम सकिने प्रतिवद्धता व्यक्त गरे । उनले यो सडक खण्डमा यस अघि केही संरचना बनिसकेको हुँदा नियमित काम गर्न सकेमा तोकिएको समयमा काम सम्पन्न हुने बताए ।

तर यसअघी बनेका संरचना समेत भत्किएका छन् । कम्पनीले काम गर्नेमा अझैपनि संका रहेका स्थानिय बताउँछन ।  स्थानीयले भने ठेक्का तोडेर नयाँ निर्माण व्यवसायीलाई काम दिनुपर्ने माग गर्दै आएका छन् ।  निर्माण कम्पनीका प्रतिनिधिले भने आफुहरुले नियमित काम गर्न पाएमा समयमा नै सम्पन्न गर्ने दाबी गरेका छन । 

कार्यालय राख्न लिएको जग्गाको २२ लाख रुपैयाँ भाडा तिर्न बाँकी 

यसअगाडि उक्त सडक खण्डमा काम गर्ने समयमा निर्माण कम्पनीको कार्यालय राखेको  कामदारहरू राखेको घरको भाडा उपभोग गरेको जग्गा भाडा हालसम्म पाएका छैनन । जैमिनी नगरपालिका–१० राङखानीका स्थानीय तेजनाथ उपाध्यायको झन्डै २२ लाख रुपैयाँ हालसम्म भुक्तानी नगरेको सोही स्थानका जयराम आचार्यले बताए । आचार्यले पनि कामदारका लागि प्रदान गरेको खाद्यान्नको ७ लाख रुपैयाँ निर्माण कम्पनीबाट लिन बाँकी रहेको बताए । ‘निर्माण कम्पनीले कार्यालय सञ्चालन गरेको थियो ।

'सामग्री राख्नका लागि जग्गा र घर पनि भाडामा लिएको थियो,' आचार्यले भने, ‘सो भाडा हालसम्म तिरेकै छैनन् । मेरो पनि पसलबाट कामदारका लागि प्रदान गरेको नगद ७ लाख रुपैयाँ भुक्तानी बाँकी छ। सडक निर्माण मात्र हैन निर्माण व्यवसायीले अन्य ठाउँमा पनि भुक्तानी अलपत्र पारेका छन्। उनले ऋण लिएर पसलमा सामान खरिद गरेर बिक्री गरियो, अहिले भुक्तानी नहुँदा आफूलाई समस्या भएको बताए । पूर्वाधार विकास कार्यालयले निर्माण निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको र बुधबार गण्डकी प्रदेश पूर्वाधार विकास मन्त्रालयमा सचिवसँग बसी यसको बारेमा थप छलफल गर्ने बताएको छ । कार्यालय प्रमुख घिमिरेका अनुसार निर्माण व्यवसायी संघर्ष समिति र प्रदेश सचिवसहित बसेर समस्याको समाधान गर्ने र समयमा नै काम सम्पन्न गर्नका लागि आग्रह गर्ने बताईएको छ।