बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवा पलायन रोक्न उत्पादन क्षेत्र फस्टाउनुपर्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५८औँ साधारणसभा एवं अधिवेशनलाई सम्बोधन गर्दै उनले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने अहिलेको अवश्यकता भएको बताए।
‘अर्काले गरेको उत्पादनको व्यापारमा मात्रै केन्द्रित हुने होइन। अब हामी आफैँ उत्पादनमा अग्रसर हुन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि राज्यले पनि उद्योगीलाई आवश्यक सुविधा उपलब्ध गराएर उत्पादन वृद्धिमा जोड्नुपर्छ।’
उनले परनिर्भरता बढाउँदै लगेर हामीले उत्पादनमा ध्यान नदिँदा अहिले देशमा समस्या भएको दाबी गरे। उनले सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताए । राजनीतिक नेतृत्वदेखि प्रशासन र नागरिकसम्मै सुधारको आवश्यकता रहेको उनको भनाइ छ।
‘ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्छ। समृद्धिका लागि सबै एकताबद्ध भएर अघि बढ्न जरुरी छ। भ्रष्टाचार नियन्त्रण गर्न व्यक्तिका सबै विषय अद्यावधिक गर्नुपर्छ,’ उनले भने।
स्थानीय सम्भावनाको आधारमा उत्पादनमा केन्द्रित हुन जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारले लगानीमैत्री वातावरण तयार गर्न लगानी बोर्ड गठन गर्ने तयारी गरेको जानकारी दिए। उद्योगीको लगानी सुरक्षित गर्ने र नाफा संकलन गरी लगानीकर्ताले नै सक्ने व्यवस्था गर्न जरुरी रहेको उनको भनाइ छ।
कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नौ करोड खर्च गरेर लगानी सम्मेलनमार्फत ६ अर्ब लगानी प्रतिबद्धता लिए पनि कार्यान्वयन हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे। अस्थिर सरकार, कर्मचारी तन्त्र, विद्यमान ऐन कानुन र राजनीतिक दलका नेतृत्वको कमजोरीका कारण विदेशीहरूले नेपालमा लगानी गर्न नचाहेको उनको दाबी छ।
राज्यले सहकारी समस्यामा अनुसन्धानको नाममा पक्षपात गरिरहेको उनले आरोप लगाए। उनले सहकारी ठगीमा संलग्न रहेका व्यक्तिको सम्पत्तिबाट असुल गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेमा जोड दिए।