मोरङको धनपालथान गाउँपालिका– ४, कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अन्जला कोइराला धरौटी तारेखमा रिहा भएकी छिन्।
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एवं सहकारीकी पूर्वसञ्चालक समिति सदस्य अन्जला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी थिइन्। अदालतमा दिएको बयानपछि भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
सहकारी ठगी कसुरमा प्रहरीको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतमा मुद्दा दर्ता गराएपछि विराटनगरस्थित विराट रात्रि माविकी शिक्षिकासमेत रहेकी अन्जला फरार थिइन्।
२७ मंसिरमा २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ बिगो दाबी गर्दै सहकारीको रकम हिनामिना कसुरमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा एकजना वर्तमान सञ्चालक रोशन राजवंशी पुर्पक्षका लागि थुनामा गएका छन् भने पूर्ववडाध्यक्ष सन्तलाल खवास पाँच लाख धरौटीमा छाडिएका छन्।
उक्त मुद्दामा अझै २३ जना फरार छन्। प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित २५ जनाविरुद्ध नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो। तर, हालसम्म प्रहरीबाट कोही पनि पक्राउ परेका छैनन्। पुर्पक्षमा गएका राजवंशी पनि आफूलाई पीडित बताउँदै सहयोग गर्छु भन्दै प्रहरीमा आफैँ हाजिर भएका थिए।