पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा चार दिनदेखि सडक अवरुद्ध बनेको छ । सडक फराकिलो बनाउने क्रममा सडक एकतर्फी सञ्चालन गर्दा हजारौं मानिसले सास्ती व्यहोरिरहेका छन् । निर्माणका क्रममा खनिएका ठूल्ठूला खाल्डामा मालवाहक सवारीसाधन भाँसिएर घण्टौं सडक जाम हुँदै आएको छ ।
सडकमा ठूला सवारीसाधन भाँसिएर घण्टौँ जाम परेपछि गाडी छाडेर यात्रुहरू पैदल यात्रा गरिरहेका छन् । उक्त सडक खण्डमा दुम्कीवासबाट बर्दघाट निस्किन करिब चार घण्टा पैदल यात्रा गर्न परेको यात्रुहरुले जनाएका छन् ।
दाउन्ने बजारदेखि पूर्व दुम्कीवाससम्ममा पर्ने पहाडमा पुल निर्माणका लागि भन्दै सात स्थानमा सडकमा खाल्डा बनाइएको छ । दाउन्ने पश्चिमको खुसार्नी खोलासहितका विभिन्न ठाउँमा पनि निर्माण काम भइरहेको छ । निर्माणको क्रममा एक्कासी बढेको शितलहर र चिसोले बाटो चिप्लो हुँदा सवारीसाधन सञ्चालनमा थप समस्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार अहिले बर्दघाट र दुम्किबास क्षेत्रमा सवारी साधनलाई होल्ड गरेर राखिएको छ ।महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने पहाडमा १४ किलोमिटर सडक खण्ड पर्दछ । केही हल्का र साना सवारी साधन सञ्चालनमा आए पनि ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेसी शाहले बताए ।
काठमाडौंबाट बुटबलजाँदै गरेका सिमोन न्यौपानले आठ घण्टामा समेत दाउन्ने पार गर्न नसकेको बताए । बुधबार बिहान साढे एक बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडक बिहीबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।
तर, राति फेरि समस्या भएको र त्यसमाथि टिफर चिप्लिएर तीनवटा सवारी साधनलाई ठक्कर दिएपछि पूर्ण रुपमा अवरुद्ध भएको सडक बिहानदेखि फेरि एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा बाटोमा अवरोध भएको र बैकल्पिक मार्ग नभएकाले सवारी साधनलाई सहज ढंगले पार गराउन समस्या भएको प्रहरीले जनाएको छ ।
सम्झौताअनुसार काम भएको भए बुटवलबाट नारायणगढ सडक खण्ड विस्तारको काम दुई वर्ष पहिले नै सम्पन्न भइसक्नुपर्ने थियो । सडकको अवस्था राम्रो हुँदा दुई घण्टामा पार गरिने नारायणघाट–बुटवल सडक खण्ड पार गर्न अहिले ५ देखि ८ घण्टासम्म लाग्ने गरेको छ ।
कतिपय यात्रुले भने रातभर हिँडेर दाउन्ने खण्ड पार गरेको बताएका छन् । यो बाटो निर्माणका क्रममा रहेको र चिनीयाँ ठेकेदार कम्पनीको लापरवाहीका कारण यात्रुले सधैँजसो सास्ती खेप्नु परेको छ ।