मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमतिविपरीत : कांग्रेस नेता साउद

‘गठबन्धनको औचित्यबारे कांग्रेसले सोच्न आवश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १७:४७:oo

सत्तासाझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबिचको सहमतिविपरीत रहेको बताएका छन्।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेकोसमेत औँल्याएका छन्।

‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन्। यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ। तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमतिविपरीत छ। यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ,’ उनले भने।

कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन आग्रह गरे।

‘अहिले कांग्रेस पनि सामेल भएको सरकारले जनताका समस्या समाधानका लागि केन्द्रित हुनुपर्नेमा आग्रह गर्न चाहन्छु। अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन,’ साउदले भने, ‘जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्छ। विकास बजेटको पनि सन्तुलित वितरण र सदुपयोग हुन सकेको छैन।’

कांग्रेसको कार्यदिशा जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने भए पनि त्यस्तो हुन नसकेको साउदको भनाइ थियो। ‘पार्टीको एकल सरकार बनाउन सकेका छैनौँ। गठबन्धनको संस्कृतिले पार्टीलाई काँध हाल्ने कुरा मात्रै भएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको कार्यदिशा भनेको जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने हो। तर, अहिले त्यस्तो हुन सकेको छैन।’

कांग्रेस केन्द्रीय सदस्य साउदले पार्टीको १५औँ महाधिवेशन २०८४ को निर्वाचनअगाडि नै हुनुपर्ने बताए। ‘पार्टीको विधानले नै तय गरेको विषयमा अन्योल हुनुपर्ने विषय छैन,’ उनले भने।