प्रक्रिया छलेर लिलामी गरेको जग्गा फिर्ता गर्न कृषि बिकास बैंक लहान शाखाले गरेको सहमति कार्यान्वयनको माग गर्दै बिहीबार सिरहाको लहान नगरपालिका–१ स्थित बैंक परिसर र पूर्वपश्चिम राजमार्ग करिब तीन घण्टा तनावग्रस्त बन्यो ।
१२ पुसमा बैंकले गरेको सहमति कार्यान्वयनको माग गर्दै ऋणी रामचन्द्र यादवको अगुवाइमा उनका आफन्त, स्थानीय बिहीबार बिहान करिब साढे १० बजे बैंकमा ताला लगाउन गएका थिए । तर उनीहरूलाई प्रहरीले रोकेपछि बैंक अगाडिको सडकमा टायर बालेर अबरुद्ध पारेका हुन् । ऋणि यादव बैंकको कारणले सुकुम्बासी बनेको भन्दै सडकमा लम्पसार परेका थिए । उनका आफन्त तथा सहयोगीहरूले समेत सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ढुंगा हानाहान गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउण्ड अश्रुग्यास प्रहारका साथै चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानले बताए । उनका अनुसार अवरुद्ध सडक खुलाउने क्रममा भिडले हानेको ढुंगा लागेर प्रहरी निरीक्षकसहित १० प्रहरी घाइते भएका छन् ।
प्र्रहरीको लाठीचार्जबाट १५ जना घाइते भएको लहान–२१ का पूर्व वडाध्यक्ष हेमन्तकुमार यादवले बताए । उनले भने, ‘प्रहरीले बैंक र बिचौलियासँग मिलेर उल्टै ऋणिलाई समस्यामा पार्दैछ ।’
यस्तो थियो सहमति
लहान नगरपालिका २२ घर भई २ नम्बर वडामा बसोबास गर्दै आएका यादवले १५ फागुन ०७७ मा कृषि विकास बैंक लहान शाखामा सिंगराही गाविस–५ को कित्ता नम्बर ४६९ को ७.२५ धुर जग्गा धितो राखेर ३० लाख ऋण लिएका थिए । पूर्वपश्चिम राजमार्गलाई छोएको उक्त जग्गामा १२ कोठाको दुई तले घरसमेत छ ।
चलनचल्तीको मूल्यअनुसार पनि उक्त जग्गालाई एक करोड ९५ लाख पर्ने स्थानीयको भनाइ छ । ‘तर बैंकका कर्मचारी र बिचौलियाको मिलेमतोमा ३५ लाखमा जग्गासहित घर लिलाम गरियो,’ उनले भने, ‘त्यसविरुद्ध ११ पुसमा बैंकमा तालबन्दी गरेपछि सोही दिन जग्गा किनबेच रोक्का गर्ने गरी दुई बुँदे सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनको माग गरेको हुँ ।’
जिल्ला उद्योग बाणिज्य संघ, स्थानीय नागरिक समाज, व्यापारी र बैंकका कर्मचारीहसहित भएको छलफल बमोजिम बैंकले १२ पुसमा सुनसरी भोक्राहा–३ की ताराकुमारी रौनियारले लिलाम सकारेको कि.नं. ४६९, ०–०–७.२५ क्षेत्रफल रहेको जग्गा लहान मालपोतलाई रोक्काका लागि अनुरोधसहित पत्राचार गर्ने, २१ पुसम्म बैंकको मुख्य कार्यालयमा शाखाले लिलाम गरेको जग्गासम्बन्धी कानुनी परामर्श लिई २२ पुसमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बैंक र ऋणी तथा उनका प्रतिनिधिहरुबीच समन्वयात्मक बैठक गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार जग्गा रोक्का लागि पत्राचार र प्रजिअसहित समन्वयात्मक बैठक दुवै नभएको उनको आरोप छ ।
साँवा ब्याज नियमित बुझाएको दावी
ऋणी यादवले जग्गा रोक्का रहेकाले नियमित रुपमा सावा ब्याज बुझाउँदै आएको दावी गरेका छन् । ९ पुसमा लहानस्थित इलाका प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्रमा उनले लिलामी हुनु अघिसम्म ३० लाख ऋणको १९ लाख ९२ हजार सात सय ७३ रुपैयाँ साँवा ब्याज बुझाएको उल्लेख गरेका छन् । त्यसका बाबजुद ३ पुसमा जग्गा लिलाम गरेको आरोप छ ।
‘अहिलेको मूल्यअनुसार पनि जग्गाको एक करोड ४५ लाख र १२ कोठे घरको ५० लाख जोड्दा हुने मूल्यको आधाभन्दा पनि कम मूल्य राखेर राखेर मिलेमतोमा लिलाम गरियो’ उनले भने ‘जति मूल्यमा लिलाम गरियो त्यतिमै म सकार्न तयार छु । बैंकले मेरो जग्गा फिर्ता गरिदिनु पर्छ अन्यथा मसहित घर परिवारमा हुने नोक्सानीको जिम्मेबारी बैंकले नै लिनुपर्छ ।’ बैंकलाई नियमित रुपमा साँवा ब्याज बुझाउँदै आएको भए पनि एक्कासी २९ असोज ०८० मा फोन गरी ‘तपाइँको जग्गा लिलाम गरिदिन्छौं’ भन्दै धम्क्याएको उनको गुनासो छ ।
बैंकले सहजीकरण गर्नुपर्छ ः राष्ट्र बैंक
जग्गा लिलामपछि ऋणिले आफ्नो जग्गा आफैंले सकार्ने भन्दै फिर्ताको मागसहित बैंकमा तालाबन्दी, सडक आन्दोलन गरेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकले वार्ताको प्रक्रियामा सहजीकरण गरिदिनु पर्ने जनाएको छ ।
राष्ट्र बैंकका जनकपुर कार्यालय प्रमुख माधव दंगालले बैंकको शाखा कुनै पनि शर्तमा खुला हुनुपर्ने र ऋणीले आफ्नो जग्गा फिर्ता लिन चाहेको अवस्थामा जसले लिलाम सकारेको हो, उसलाई बैंकले चिनाइ दिएर वार्तामा सहजीकरण गरिदिनु पर्ने उल्लेख गरे ।
‘बोलकवोल प्रकृयाप्रति चित्त बुझेको छैन भन्ने लाग्छ भने कानुनी प्रक्रियामा जानुको विकल्प छैन,’ उनले भने, ‘होइन भने बैंकले लिलाम सकार्ने व्यक्तिलाई चिनाई दिएपछि वार्ता हुँदा सहजीकरण गरिदिने मात्र हो ।’
ऋणिले ०७९ सालदेखि नै साँवा ब्याज तिर्न छोडेपछि लिलामी प्रक्रियामा जाने सूचना दिएको सूचना पाएको उनको भनाइ छ । तीन÷तीन पल्टसम्म डाक लिलाम प्रक्रिया असफल भएपछि चौथो पटकमा लिलाम सकार भएको दावी गर्दै उनले भने ‘ऋणी स्वयम्ले पनि डाँक लिलाम प्रक्रियामा सामेल हुन सक्थे ।’