मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २३ मंगलबार १८:o९:oo
Read Time : > 1 मिनेट
समाचार

गेटामा तत्काल मेडिकल विश्वविद्यालय चलाउन कठिन छ : मन्त्री पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १८:o९:oo

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तत्कालै स्वास्थ्य विज्ञान विश्वविद्यालय चलाउन कठिन हुने बताएका छन् । मंगलबार मेडिकल कलेजको लागि बनेको संरचना निरीक्षण गर्ने क्रममा उनले अस्पताल र मेडिकल शिक्षा पढाइ सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न धेरै गाह्रो हुने बताएका हुन् । 

संरचनाको निरीक्षणपछि मन्त्री पौडेलले मेडिकल विश्वविद्यालय विधेयक पारित हुँदैमा विश्वविद्यालय बन्न नसक्ने बताए । अस्पताल सञ्चालन भएको, एमबिबिएसलगायत मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन भएको ठाउँमा विश्वविद्यालय स्थापना गर्न सहज हुने उनको भनाइ थियो । ‘कानुनी प्रक्रिया मात्र पूरा भएर विश्वविद्यालय सञ्चालन हुँदैन । सँगसँगै त्यसअनुसारको स्रोत, फ्याकल्टीहरू, डिपार्टहरू र अरू पूर्वाधार बनेको हुनुपर्छ,’ उनले भने, ‘त्यसैले विश्वविद्यालय बनाउने प्रक्रिया पनि अगाडि बढाउने, अहिले अस्पताल सञ्चालन गर्ने, एमबिबिएस सञ्चालन गर्ने हो ।’

गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया निरन्तर अगाडि बढाएर अहिले अस्पतालको सेवा विस्तारमा ध्यान दिनुपर्ने धारणा उनले राखे । राज्यको सात अर्ब लगानीमा बनेका पूर्वाधार प्रयोगमा नआएको भन्दै उनले अहिले सञ्चालन भइरहेको ५० शय्याको अस्पताललाई आगामी असारसम्म सय शय्यामा स्तरोन्नति गरिने प्रतिबद्धता जनाए ।

‘पछिल्लो २० वर्षमा यतिधेरै पूर्वाधार कि गेटामा बनेको छ कि सिंहदरबारमा । सिंहदरबारसरह प्राथमिकतामा राखेर यत्रो धेरै पूर्वाधार राज्यले बनाएको छ । आठ अर्बको लगानीमा बनेको पूर्वाधार प्रयोगमा आएको छैन,’ उनले भने, ‘यो पूर्वाधार सम्पूर्ण रूपमा प्रयोगमा ल्याउन तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ। त्यसपछि ओएनएम गरेर जनशक्ति व्यवस्थापन गर्नुपर्छ ।’

अहिले शिक्षा मन्त्रालयअन्तर्गत रहेका यी संरचना स्वास्थ्यलाई हस्तान्तरण गरिनुपर्ने मन्त्री पौडेलले बताए । यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन भएर पछि विश्वविद्यालय बन्ने अवस्थामा संरचना पुनः शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न सकिने उनले बताए ।

उनले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको बताए । त्यसका लागि संगठन तथा व्यवस्थापन सर्भे गरिने तथा आगामी असारसम्म सय शय्याको अस्पताल सञ्चालन गरिने उनको भनाइ थियो । ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि निर्मित संरचनामा हाल ५० शय्याको मात्र अस्पताल सञ्चालनमा छ । गेटामा सेवा विस्तारका लागि तत्काल १०–१२ जना स्कलर डाक्टर पठाउने प्रतिबद्धता पनि उनले जनाए ।

चिकित्सा शिक्षा सुरु गर्न तीन सय शय्याको अस्पताल सञ्चालन भएको हुनुपर्ने भए पनि सुदूरपश्चिममा एउटा पनि मेडिकल कलेज नभएको अवस्थामा चिकित्सा शिक्षा आयोगको निर्णयमार्फत तीन सय शय्याको अस्पतालविना यहाँ मेडिकल शिक्षा सुरु गर्न आफू प्रयासरत रहेको मन्त्री पौडेलको भनाइ थियो ।