प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको र सबैजना वर्तमान एमालेको भरभराउँदो पंक्तिमा रहेको बताएका छन् ।
एमालेको केन्द्रीय कमिटीको आठौँ बैठक समापनमा राजनीतिक प्रतिवेदनमाथिको सुझाव र जिज्ञासाको जवाफ दिँदै ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्वसमूहहरू खोज्नतिर नलाग्न आग्रह गरे । ‘एमालेमा अब कुनै पनि पूर्वसमूहहरू छैन । हामीले पूर्वसमूह खोज्नतिर होइन, वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ,’ अध्यक्ष ओलीले भने ।
उनले आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै देशको हितमा काम गर्न पनि जोड दिए । ‘हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुुपर्छ,’ ओलीले भने ।
अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरू लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने, तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य हुने पनि बताए ।
मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नुपर्ने कामहरू सक्दो गर्ने भन्दै ओलीले आफूहरू चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको जानकारी गराए । त्यस्तै, पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि निर्देशन दिए ।