कुनै कामका लागि दिनभर समय छुट्याएर लाइनमा बस्नुपर्ने परिस्थितिबाट विश्वका सम्पन्न देशहरू बाहिर निस्किसकेका छन् । ढिलोचाँडो हामी पनि निस्कँदै छौँ । घरमै बसेर स्मार्टफोन वा ल्यापटपमार्फत धेरैभन्दा धेरै काम गर्ने अवस्था बन्दै छ । युगको यो आवश्यकता बुझेका ठुलो संख्याका युवा अहिले सूचना–प्रविधि क्षेत्रमा रमाइरहेका छन् । यही कारण, सूचना प्रविधि उद्योग नेपालमा तीव्र गतिमा फस्टाउँदो उद्योगमध्ये एक हो ।
सन् २०२२ को एक अध्ययनअनुसार नेपालमा ६६ हजार ६ सयभन्दा धेरै युवा यस क्षेत्रमा कार्यरत छन् । सन् २०२२ मा आइटी क्षेत्रबाट झन्डै ६८ अर्ब रुपैयाँबराबर सेवा निर्यात भएको थियो । यसले अन्तर्राष्ट्रिय बजारमा बढ्दो नेपाली ‘फ्रिलान्सर’हरूको प्रभावलाई देखाउँछ ।
यो क्षेत्रमा १० देखि ४ बजेसम्म काम गर्ने परम्परागत घेराबन्दी छैन । मानिसले जुनसुकै ठाउँमा बसेर काम गर्न सक्छन् । अहिले ठुलो संख्यामा नेपाली युवाहरूले घरमै बसेर विदेशी कम्पनीका लागि काम गरिरहेका छन् । यसबाट देशमा राम्रो पैसा भित्रिएको छ ।
सफट्वारिका कलेजमा ब्याचलर तेस्रो सेमेस्टर पढ्दै गर्दा आइटी क्षेत्रमा इन्टर्नका रूपमा मेरो औपचारिक प्रवेश भयो । मेरो अनुभवमा सीप हुनेले यो क्षेत्रमा धेरै कुर्नुपर्दैन । मास्टर्स सकेपछि सन् २०१८ मा केही साथीहरू मिलेर माइन्डराइजर्स टेक्नोलोजिज खोल्यौँ । त्यसको दुई वर्षपछि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्यौँ । यहाँ हामीले आफूजस्तै युवालाई आइटीसम्बन्धी प्रशिक्षण दिँदै आएका छौँ । कोभिड– १९ महामारीको समयमा लकडाउन भयो । कार्यालय ठप्प थिए । धेरै काम घरबाटै भए । मानिसहरूले प्रविधिको महŒव यतिवेला निकै गहिरोसँग महसुस गरे । हाम्रो इन्स्टिच्युटमा अहिलेसम्म आइपुग्दा १५ हजारभन्दा धेरैले प्रशिक्षण लिइसकेका छन् । त्यसमध्ये धेरैजना हामीजस्तै युवा छन् । उनीहरूमा केही गर्ने भोक छ ।
सफ्टवेयर एन्ड एप डेभलपमेन्ट
विश्वका ठुला–ठुला ब्रान्डहरूले पनि सफ्टवेयर डेभलपमेन्टको अधिकांश काम दक्षिण एसियाली देशमै गर्ने गरेका छन् । विशेषगरी युरोप, अमेरिका र अस्ट्रेलियाका ब्रान्डहरू भारत, पाकिस्तान, नेपाल र बंगलादेशमा काम गर्न रुचाउँछन् । यहाँ, उनीहरूले तिर्नुपर्ने पैसा पनि तुलनात्मक रूपमा कम हुन्छ । विभिन्न फ्रिलान्स प्लाटफर्ममार्फत आइओएस (एप्पलको मोबाइल अपरेटिङ सिस्टम), एन्ड्रोइड, फेसबुक, टिकटकलगायत धेरै बहुराष्ट्रिय कम्पनीका लागि सफ्टवेयर तथा एप डेभलप गर्ने काममा स्वतन्त्र वा ‘थर्ड पार्टी कम्पनी’मार्फत नेपाली दक्ष डेभलपरहरू संलग्न छन् ।
आइटी क्षेत्रमा लागेकाहरूले आधारभूत तालिमलगत्तै ३०–३५ हजार सहजै कमाउन सक्छन् । अलि राम्रो सीप र माग भएकाहरूले घरमै बसेर दुई–तीन लाखसम्म कमाइरहेका छन् । सुन्दा अचम्म लाग्ला, तर अनुभवी र उच्च सीपयुक्त डेभलपरहरूले १० लाखभन्दा बढी कमाउँछन् । नेपाल सरकारले बहुराष्ट्रिय कम्पनीहरूलाई देशमा आकर्षित गर्नका लागि गतिलो योजना र त्यहीअनुसारको पूर्वाधार बनाउनुपर्ने समय आइसकेको छ ।
वेब डिजाइन एन्ड डेभलपमेन्ट
यसमा डिजाइन, प्रोग्रामिङ, कन्टेन्ट म्यानेजमेन्ट, छरितो र सहज वेबसाइटको निर्माणलगायत पर्छन् । कलर, आइकन, तस्बिर, लेआउटलगायतले यसमा भूमिका खेल्छ । अहिले नेपालमा धेरैले वेबसाइट बनाइरहेका छन् । निजी कम्पनी, सरकारी निकाय, फिनटेक, ई–कमर्स कम्पनीहरूले नयाँ–नयाँ वेबसाइट तथा एपहरू बनाइरहेका छन् । भिडियो एडिटिङ, कन्टेन्ट राइटिङलगायत क्षेत्रमा पनि यसले अवसरका नयाँ ढोका खोलेको छ । नेपालमै बसेर विदेशी कम्पनीका वेबसाइट बनाउनेहरूको संख्या पनि ठुलो छ । छोटो समयको तालिम लिएर यस क्षेत्रमा लाग्न सकिन्छ । नयाँ सुरुवात गर्छु भन्नेहरूका लागि यो क्षेत्र निकै राम्रो मानिन्छ ।
डिजिटल मार्केटिङ
वेब डिजाइन, डिजिटल मार्केटिङ र क्वालिटी एस्योरेन्स अन्तरसम्बन्धित छन् । यी तीनवटै कोर्स अहिले सबैभन्दा धेरै माग हुने कोर्स हुन् । डिजिटल मार्केटिङमा त्यति धेरै टाउको दुखाउनु पनि पर्दैन, सहजै सिक्न सकिन्छ । कोर्स सक्नासाथ काम पाइने सम्भावना धेरै छ । सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन, इमेल मार्केटिङ, मेटालगायत यसमा पर्छन् । कन्टेन्ट क्रियट गरेरै धेरै कमाउन सकिन्छ । सोसल मिडिया म्यानेजर, सर्च इन्जिन अप्टिमाइजेसनका रूपमा पनि काम गर्न पाइन्छ । युट्युब, टिकटक, फेसबुकमा कन्टेट क्रियट गर्नेहरूको अहिले ठुलो डिमान्ड छ । अर्को सम्भावना एफिलियट मार्केटिङमा छ । ‘इन भिडियो एड’बाट पनि आम्दानी गर्न सकिन्छ । इन्फ्ल्युयन्सर्सका रूपमा पनि युवापुस्ताले भविष्य देख्न थालेको छ । उनीहरूले सिर्जनात्मक सामग्रीहरू अपलोड गरेर मानिसलाई लोभ्याइरहेका छन् । कतिपय खराब र अश्लील सामग्रीहरू पनि सामाजिक सञ्जालमा नदेखिएका होइनन् । तर, त्यस्ता सामग्री तत्कालका लागि भाइरल भए पनि त्यसले समाजमा राम्रो सन्देश दिन सक्दैन । यदि हामीले राम्ररी बुझेर कन्टेन्टहरू अपलोड ग¥यौँ भने यसले समाजलाई उन्नत बनाउन र हामीलाई स्थापित गर्न पनि भूमिका खेल्छ । त्यसका लागि हामीले डिजिटल मार्केटिङको पर्याप्त ज्ञान लिन जरुरी हुन्छ ।
अहिले कसैले चुट्किला भनेरै पनि पैसा कमाइरहेको छ । टिकटक र युट्युबमार्फत आफ्नो क्षमता प्रस्फुटन गरिरहेका छन् । भ्युजका आधारमा पैसा कमाउन सकिन्छ, स्पोन्सरसिप ल्याएर पनि थप आर्जन गर्न सकिन्छ ।
गुणस्तर सुनिश्चितता
यो कोर्स पनि निकै माग हुने कोर्स हो । वेबसाइट वा एप बनाउनु जति महŒवपूर्ण छ, त्यसको नियमित सञ्चालन उत्तिकै महत्वपूर्ण छ । कहिलेकाहीँ ट्राफिक ह्यान्डल गर्न नसकेर धेरै गल्तीहरू देखिन्छन् । वेबसाइट डाउन हुने, ह्याक हुनेलगायत समस्या देखिन सक्छ । सर्भर त बनायो, तर सेवा दिन सकेन भने कुनै अर्थ रहन्न । यसका लागि क्वालिटी एस्युरेन्स महत्वपूर्ण हुन्छ । क्वालिटी एस्युरेन्स हुनेबित्तिकै त्यो ट्राफिकको लोड टेस्टिङ पनि हुन्छ । यसले सेवा प्रवाह चुस्त छ भन्ने सुनिश्चित गर्छ ।
साइबर सेक्युरिटी र एआई
अहिले साइबर सेक्युरिटी र एआईमा पनि युवाहरूको आकर्षण बढ्दो छ । तर, यसमा हामी केही पछि नै छौँ । धेरै युवालाई आफ्नो गोपनीयता सुरक्षित राख्नुपर्छ र अनलाइन सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ भन्ने छ । उनीहरू साइबर थ्रेटबारे जानकार छन् र समाजमा यसबारे सचेतना फैलाउने अभियानमा पनि छन् । विद्यमान चुनौतीहरूलाई पार लगाउनका लागि सक्रिय छन् । एआईको प्रयोग हाम्रो दैनिक जीवनमा बढ्दो छ । अहिले कन्टेन्ट राइटिङ, भिडियो एडिटिङलगायत क्षेत्रमा यसको व्यापकता बढेर गएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ । कम समय र लगानीमा धेरै उत्पादकत्व प्राप्त गर्न सकिने भएकाले पनि यसको प्रयोग बढेर गएको हो ।
चुनौती
हरेक क्षेत्रमा अवसरसँगै चुनौती पनि हुन्छन् । डिजिटल नेपाल फ्रेमवर्क तयार भए पनि यसको कार्यान्वयन पक्ष उति प्रभावकारी देखिन्न । सरकारी कार्यालयहरूले समयसुहाउँदो सेवा प्रवाह गर्न सकेका छैनन् । हाम्रा शैक्षिक संस्थानहरूले पनि समयअनुकूल सीपमूलक शिक्षा उपलब्ध गराउन जोड दिनुपर्छ । राजनीतिक अस्थिरताका कारण युवा पुस्ता निराश छ । देशमै बस्ने वातावरण र उत्साह जगाउने काममा सरकार लाग्नुपर्छ । स्टार्टअप कम्पनीहरूलाई प्रवद्र्धन गर्ने गरी सरकारले नीति ल्याउनुपर्छ । अहिलेको अवस्थामा हामीले विदेशी कम्पनीसँग काम गरेबापत आउने पारिश्रमिकबाट सरकारलाई धेरै कर बुझाउनुपर्ने र प्रशासनिक झमेलाका कारण पैसा लिन लामो समय कुर्नुपर्ने समस्या छ । यो झन्झटिलो अवस्थालाई चिर्नुपर्छ । सूचना प्रविधिमा सरकारले युवा पुस्तालाई पर्याप्त तालिम दिनुपर्छ । देशमा इन्टरनेटको कनेक्टिभिटी अझै बढाउनुपर्ने अवस्था छ । सफ्वेयर पाइरेसी, प्रतिलिपि कानुनलगायत बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुनलाई कडा बनाउनुपर्छ । अनलाइन कारोबार र डिजिटल प्लाटफर्मको संख्या बढेसँगै साइबर सेक्युरिटी एउटा गम्भीर चासोको विषय बनेको छ । डाटा चोरी, ह्याकिङ, अनलाइन ठगीलगायत समस्या देखिएका छन् । यसमा कडा कानुन बनाउनुपर्छ । हाम्रा प्रविधि कम्पनीहरूले अहिले विदेशीका लागि काम गरिरहेका छन् । तर, विदेशीले पत्याएका हाम्रै कम्पनीलाई सरकारले पत्याउँदैन । कुनै सुविधा र सहयोग दिँदैन । स्थानीय बजारमा पनि स्वस्थ प्रतिस्पर्धालाई बढावा दिन आवश्यक छ । जसकारण, सिर्जनशील सोच भएका युवाहरूलाई यस क्षेत्रमा लगानी गर्ने प्रेरणा मिल्नेछ ।
(जेन–जी पुस्ताका चुँडाल माइन्डराइजर्स टेक्नोलोजिजका संस्थापक हुन्)