सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ। भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले सन् २०२४ मा सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका छन्। मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेका उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए।
गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको जानकारी दिए। उनले भने, ‘सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारको लागि हामीले नयाँ योजना सुरु गरेका छौँ।’
दुर्घटनालगत्तै, २४ घण्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ। सडक दुर्घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।