राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीमा दिएको बयान :
मलाई काठमाडौंबाट पोखरा लगेर त्यहाँबाट चितवन लैजाने भनिएको थियो । तर, काठमाडौंबाट सीधै चितवन लगियो । चितवन लगेर पनि स्वास्थ्य परीक्षण गरिएन । लैजाने क्रममै टाउको दुखेको थियो, त्यो जानकारी प्रहरीलाई दिँदासमेत आराम गर्न नदिएर बयान लिने काम भयो । दोस्रो दिन पनि टाउको दुखेको जानकारी गराउँदागराउँदै बिहान ८ बजेबाट राति ९ बजेसम्म बयान लिने काम भयो ।
बयान सकेर प्रहरी कार्यालय लगियो । भेट्न आएकासँग केहीवेर कुरा गरेर राति १० बजेतिर सुत्न गएँ । केही समयपछि कोठामा आएका एसपी ‘आइजिपीको फोन आएको’ भन्दै बाहिर निस्के । फोनमा दुईजना गफ गर्दाको केही आवाज मैले पनि सुनेँ, आइजिपीले एसपीलाई अपशब्द बोल्दै ‘अहिल्यै लिएर जा’ भनेको सुनेँ ।
त्यसपछि एसपी आएर ‘पोखरा अहिले नै लैजान भनिएकाले तयार हुनुस्’ भनियो । मैले ‘औषधि खाएको छु, केही गाह्रो पनि भएको छ, अहिले आराम गर्न दिनुस्’ भनेर पटक–पटक आग्रह गरेँ, तर सुनिएन । ‘पोखरा लैजाने नै भए परिवारका सदस्य र कानुन व्यवसायीसँग भेट गर्न दिनुस्’ भनेँ । मेरो त्यो आग्रह पनि सुनिएन । चार–पाँचजना प्रहरी आएर मलाई तान्न सुरु गरे । एकजनाले त मादक पदार्थ खाएको गन्धसमेत आएको थियो । पोखरा आएपछि मलाई स्वास्थ्य परीक्षणका लागि लगियो, प्रेसर नाप्दा १८०/९० रहेछ ।
हिरासतमा राखेदेखि बयान लिने र ठाउँठाउँमा उजुरी हाल्न लगाउने काम भइरहेको छ । अदालतले समेत म्याद थपेको थप्यै गरेको छ । परिवारका सदस्य र कानुन व्यवसायीलाई सहज तरिकाले भेट गर्न दिइएको छैन । त्यही भएर मेरो स्वास्थ्यमा समस्या आएको छ । ममाथि किन यति धेरै अन्याय र अत्याचार भएको छ ? परिवारकै चरित्रहत्या गर्ने काम भइरहेको छ ।
मैले लेखेका डायरी हराएका छन् । मलाई यत्तिका दिन हिरासतमा राख्दा नष्ट गर्ने के कुरा भेटियो ? मेराविरुद्ध राज्य नै लागेको छ, निरन्तर राज्यको खेदाइमा परिरहेको छु । तैपनि निराश छैन, न्यायालयप्रति आस छ । संसदीय छानबिन विशेष समितिले सहकारीबाट रकम ल्याउने काममा मेरोे सहभागिता र संलग्नता छैन भनेको अवस्थामा त्यसको विपरीत सहकारी ठगी भनेर पक्राउ गरेर अनुसन्धान गर्न २५ दिनले नपुगेर ६० र हाल ९० दिन भनिएको छ । यति गरेर मात्र नभएर जिल्ला–जिल्लामा जाहेरी दिन लगाएर दुःख दिइएको छ, यसलाई इजलासले के–कसरी हेरेको छ श्रीमान् ?