मधेशको पूर्व–पश्चिम लम्बाइमा करिब मध्यमा पर्ने महोत्तरीको बर्दीबास नगर क्षेत्र शैक्षिक केन्द्र बन्दै छ । यस अघिदेखि विभिन्न संकायका विधामा उच्च शिक्षाको केन्द्र रहँदै आएको बर्दीबासमा भर्खरै पशु स्वास्थ्य विज्ञान संकायको कलेज स्थापनाको प्रक्रिया अघि बढेपछि यो नगर क्षेत्र शैक्षिक केन्द्र बन्न लागेको हो।
बर्दीबासमा मधेश कृषि विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञान कलेज बनाउने प्रक्रिया अघि बढाइएको छ । कृषि, पशु स्वास्थ्य विज्ञान, मत्स्यविज्ञान, खाद्य प्रविधि र वन विज्ञानसमेत पाँच विधाको अध्ययन हुने गरी ०७८ सालमा स्थापित मधेश कृषि विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञानको पठनपाठन र प्रयोगात्मक अभ्यासका लागि बर्दीबासमा उच्च शिक्षा पूरा गरिने कलेज निर्माण हुन लागेको मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुर बताउँछन् । कलेजका लागि बर्दीबास– १३ बिजलपुराको नदी उकास जग्गाबाट ५१ बिघा उपलब्ध गराउने बर्दीबास नगरपालिकाको सिफारिसलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा दर्ता सिफारिस समितिले निर्णय गरिसकेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
नगरपालिकाले ०७९ पुसमै यो कलेज स्थापनाका लागि राष्ट्रिय योजना आयोगसँग प्रस्ताव लगेकाे, कानुनी प्रक्रिया पूरा गर्दै अघि बढ्दा केही समय लागे पनि अब भने यसले गति समातेको बर्दीबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री बताउँछन् । सरकारले प्रारम्भिक चरणमै आर्थिक वर्ष ०८०/८१ मा भेटेरेनरी कलेज निर्माणका लागि तीनवर्षे अवधिको क्रमागत योजनाअन्तर्गत रु. नौ करोड ५० लाख विनियोजन गरेको थियो ।
तर, त्यतिखेर कलेजका लागि जग्गा प्राप्तिको विषय अघि नबढ्दा अन्याेलमा परेको थियो । संघीय सरकारले चालू आर्थिक वर्ष ०८१/८२ को बजेटमा पनि भेटेरेनरी कलेजको विषय समावेश गरेको छ । जग्गाप्राप्तिको अन्तिम निर्णय भएपछि यसैपालि भेटेरेनरी अस्पताल, पशु शय्या (बिरामी पशु राखिने ठाउँ) प्रयोगशाला र कर्मचारी आवासका संरचना निर्माणको काम तत्कालै थालिने मधेश कृषि विश्वविद्यालयले जनाएको छ । रजिस्ट्रार डा. ठाकुर भन्छन्, ‘तीन वर्षभित्र कलेजका संरचना निर्माणका काम सकिनेछन्, त्यसलगत्तै पठनपाठन र अभ्यास सुरु गर्न सकिन्छ ।’
बर्दीबास नगर क्षेत्र कृषि र यसअन्तर्गतको पशुपालन व्यवसायको उर्वर ठाउँ भएको हुँदा यहाँ स्थापना हुने पशु स्वास्थ्य विज्ञान कलेजको स्थापनाले उच्च शिक्षा लिने मात्र नभई सर्वसाधारण किसान पनि लाभान्वित हुने बर्दीबास नगर प्रमुख क्षत्रीको विश्वास छ । ‘यहाँ स्थापना भई सञ्चालन हुने भेटेरेनरी कलेजबाट यहाँ पशुपालन व्यवसाय प्रवर्द्धनमा मद्दत पुग्नेछ,’ क्षेत्री भन्छन्, ‘यहाँबाट उत्पादन हुने पशु स्वास्थ्य विज्ञान विषयका दक्ष जनशक्तिले मुलुककै समृद्धिमा योगदान दिनेछन् ।’
बर्दीबासमा अहिले भेटेरेनरी कलेज स्थापनाको कुराले नगर विभिन्न विधाको औपचारिक शिक्षाको मुख्य गन्तव्य (केन्द्र) बन्ने नगरवासीको विश्वास छ । ‘हाम्रो नगर शैक्षिक गन्तव्यको मुख्य थलो बन्दै छ,’ भेटेरेनरी कलेज स्थापनाको कुराले उत्साहित भएका बर्दीबास जनता बहुमुखी क्याम्पसको प्राज्ञसभाका अध्यक्ष भरतबहादुर हमाल भन्छन्, ‘यसले बर्दीबासलाई शैक्षिक गन्तव्यको थलोका रूपमा विकास हुनमा थप आधार बनाउनेछ ।’
बर्दीबासमा यस अघिदेखि नै वाणिज्य र शिक्षा संकायको त्रिविअन्तर्गतको बर्दीबास जनता बहुमुखी क्याम्पस, प्राविधिक धारतर्फका आठभन्दा बढी विधाको पठनपाठन र अभ्यास हुने निर्मल लामा बहुप्राविधिक शिक्षालय र कृषि विश्वविद्यालय रामपुर सम्बन्धनको कृषि संकायको विभिन्न विधाको पठनपाठन हुने प्राकृतिक स्रोत कलेज सञ्चालनमा छन् । स्नातक तहसम्मका यी शैक्षिक प्रतिष्ठानले बर्दीबासलाई शैक्षिक केन्द्रका रूपमा परिचय दिएको छ । अब भेटेरेनरी कलेज स्थापनाको कुराले यसमा थप बल पुग्ने शिक्षाविद् बर्दीबास–१ का बासिन्दा लीलाविक्रम थापा बताउँछन् ।
शिक्षा संकायमा स्नातकोत्तर र वाणिज्यमा स्नातक तहसम्मको पठनपाठन हुने बर्दीबास जनता क्याम्पसमा अहिले एक हजार तीन सयभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । यसैगरी स्नातक तहसम्मकै निर्मल लामा बहुप्राविधिक शिक्षालयमा (सिभिल इन्जिनियरिङ, सर्भे नापी, फुड एन्ड डेरी, होटेल म्यानेजमेन्ट, फार्मेसी, वन विज्ञान र आयुर्वेदसहितका आठ विधामा गरी आठ सयभन्दा माथि छात्रछात्रा छन् । यसैगरी प्राकृतिक स्रोत कलेजमा मुलुकका सातै प्रदेशका चार सयभन्दा बढी छात्रछात्रा छन् । यसबाहेक यहाँका ६ माध्यमिक विद्यालयले डिप्लोमा तहका कृषि विज्ञान, पशु स्वास्थ्य र कम्प्युटर विज्ञानसम्बन्धी प्राविधिक धारको पठनपाठन गराउँदै आएका छन् ।
यहाँ नेपाल सरकारको ०७३ सालकै निर्णयले बर्दीबास मेडिकल कलेज निर्माणको प्रक्रियामा छ । मेडिकल कलेजको पूर्वाधार निर्माणको परियोजना कार्यालय नै स्थापना भएर सातजनाको जनशक्ति कार्यरत छ । तर, यो कलेज निर्माणको प्रस्तावित स्थल वन अधिनस्थ जग्गा हुँदा अहिले जग्गाप्राप्तिकै कुरा विचाराधीन छ । भेटेरेनरी कलेज स्थापनाको कुराले उत्साहित बर्दीबासवासी मेडिकल कलेजको जग्गाबारे पनि चाँडै निर्णय आउने पर्खाइमा छन् ।
बर्दीबासमा उच्च शिक्षाका लागि सञ्चालित कलेजका अतिरिक्त माध्यमिक तहका सामुदायिक विद्यालय ३० वटा रहेका छन् । बर्दीबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाका प्रमुख रेवतीरमण पराजुली भन्छन्, ‘उच्च शिक्षामा विभिन्न विधाको पठनपाठनको अवसर यहाँ बन्दै जानुले यो नगर मधेशकै शैक्षिक गन्तव्यका रूपमा विकास हुने क्रममा छ ।’