रामेछाप नगरपालिका– ७ सुकाजोर वडा कार्यालयले आर्थिक अवस्था कमजोर भएका पाँच सय घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अवस्था कमजोर भएर सरकारले प्रदान गरेको सहुलियत स्वास्थ्य सुविधा लिन नसकेका सुकाजोरका पाँच सय घरपरिवारको वडावाट खर्च व्यहोरेर निःशुल्क स्वास्थ्य बिमा गरिदिएको रामेछाप नगरपालिका– ७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले जानकारी दिए ।
उनका अनुसार सुकाजोरमा ९२७ घरधुरी रहेका छन् । जसमा अझै धेरै घरपरिवार स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । आर्थिक अवस्था कमजोर भएका घरपरिवार धेरै रहेका छन् । वडाले आगामी वर्षसम्म सबै घरपरिवारलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउने गरी काम अघि बढाएको अध्यक्ष कार्कीले बताए ।
आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका नागरिकको हकमा वडा कार्यालयबाट कर्मचारीहरू नागरिकको बस्तीबस्तीमा नै पुगेर नागरिकहरूको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएपछि स्वास्थ्य सेवा लिन सहज हुने रामेछाप नगरपालिका– ७ सुकाजोरकी जानुका बस्नेतले बताइन् ।