नेपाल सरकार र निजी क्षेत्रले विदेशी लगानी प्रवर्द्धनका लागि निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाउँदै नेपालमा लगानी बढाउन चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । नेपालमा सबैभन्दा बढी विदेशी लगानी चीनबाट आएको तथा चीन दोस्रो ठुलो व्यापार साझेदारसमेत भएको उल्लेख गर्दै उनीहरूले लगानी विस्तार र व्यापार सहजीकरणका लागि चिनियाँ पक्षसँग आग्रह गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा बुधबार आयोजना गरेको ‘नेपाल चीन बिजनेस समिट’मा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह गरेका हुन् । नेपालमा अनुकूल व्यावसायिक वातावरण बनेको र निरन्तर सुधारसमेत गरिने भन्दै प्रधानमन्त्री ओलीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।
द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझैं पनि लगानीका लागि आकर्षक रहेको उल्लेख गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए ।
भैरहवा र पोखरामा सीधा उडानका लागि ढकालको आग्रह
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सीमाक्षेत्रको पूर्वाधारलगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सीधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए । यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । एक वर्षको अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराउँदै ढकालले भने, ‘महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, यसैगरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ ।’
यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी गराउँदै यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको बताए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँदै लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह गरे । सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्पपूर्ण हुने बताए । उनले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए ।
लगानी र पारवहनमा सहजीकरण गर्छौँ : उपमन्त्री लिङ ची
सिसिपिआइटीको मुख्यालय बेइजिङमा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबिचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । उनले नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए ।
चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए । उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउँदै नेपालबाट बढिभन्दा बढी वायु सेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।