
कुनाल कामराले आफ्नो हास्यव्यंग्यलाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् जुन वास्तवमा कमजोर तप्काको प्रतिरोधको अस्त्र हो
जसै भारतीय हास्य कलाकार कुणाल कामराको नयाँ भिडियो ‘नयाँ भारत’ २३ मार्चमा सार्वजनिक भयो भारतीय दर्शक हाँस्न थालेका थिए । र, यसको केही घण्टापछि सोही दिन वासिङटन डिसीस्थित जोन एफ केनेडी सेन्टर फर दी पर्पmर्मिङ आर्टस्मा अमेरिकी हास्य पुरस्कार ‘मार्क ट्वेन प्राइज फर अमेरिकन ह्युमर’ प्रदान गर्ने वार्षिक समारोह आयोजना भइरहेको थियो जसमा कोनान ओ’ब्रायनलाई सम्मानित गरियो । राजनीतिक व्यक्तित्व नभए पनि ओ’ब्रायनले आफ्नो भाषणमा, ‘ट्वेनले दादागिरी गर्नेलाई घृणा गर्थे । उनी सधैँ शक्ति संरचनामा उपल्लो स्थानमा रहेकामाथि प्रहार गर्थे र उनी कमजोरका लागि गहिरो सहानुभूति राख्थे’ भनेका थिए । ट्रम्पलाई दादागिरी गर्ने व्यक्तिका रूपमा इंगित गर्दा दर्शकले हाँस्दै ताली बजाएका थिए ।
भारतमा पनि ‘वर्षको सबैभन्दा साहसी हास्य पुरस्कार’ स्थापना गर्नुपर्ने हो । किनभने यहाँ व्यंग्यकार भिडको हिंसा, ट्रोल सेना, र सत्ताको डरले सताइन्छन् । यी शक्तिहरू प्रायः संगठित रूपमा हास्यव्यंग्य कलाकारलाई चुप लगाउन सक्रिय हुन्छन् । उदाहरणका लागि, मुनब्बर फारुकी र नलिन यादवलाई लिन सकिन्छ । नतिजा धेरै हास्य कलाकारहरूले स्वाभाविक रूपमा सत्ताधारीहरूप्रति आलोचनात्मक व्यंग्य नगर्ने निर्णय लिएका छन् ।
बढ्दो असहिष्णुताको पृष्ठभूमिमा कुनाल कामराले ‘नयाँ भारत’ व्यंग्य प्रस्तुति गरेर विशेष साहस देखाएका छन् जसमा भारतका प्रभावशाली व्यक्तिमाथि ‘प्रहार’ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, आदित्यनाथ, एकनाथ सिन्दे, अम्बानी, महिन्द्रा, सुधामूर्तिलगायतलाई उनले आफ्नो हास्यव्यंग्यमार्फत प्रहार गरेका छन् । कतिपय दर्शकले यसलाई रमाइलो मानेका छन् भने कतिपय क्रुद्ध भएका छन् । मुम्बईमा प्रहसन आयोजना गरिएको स्थान ‘द ह्याबिट्याट’मा आक्रमण गरियो । कामराविरुद्ध मानहानीको उजुरीसमेत दर्ता गरियो ।
मानहानीको मुद्दाले केवल हास्यको रमाइलोपन मात्र नभई यसको सारतत्वलाई नै जोखिममा पारिरहेको छ । यसै सन्दर्भमा प्राध्यापक थोमस ई. क्रोनिनले आफ्नो लेख ‘लाफिङ एट लिडर्स’मा ‘राजनीतिक व्यंग्य प्रभावकारी हुन अत्यधिक तिक्त र पक्षपातपूर्ण (अर्थात् कमजोरका पक्षमा) हुन्छ । र, तानाशाहहरूले यसलाई घृणा गर्छन्’ लेखेका थिए । क्रोनिनले राजनीतिक हास्यप्रति विभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् । यस मामिलामा सिगमन्ड फ्रायडको विचार सबैभन्दा मार्मिक देखिन्छ, उनका अनुसार हास्यव्यंग्य–ठट्टा कमजोरको सत्ताविरुद्धको विद्रोहको संकेत हो । व्यंग्य दबिएका वर्गका लागि एक किसिमको मनोवैज्ञानिक उपचार हो । यसले वास्तविकता परिवर्तन गर्न नसके पनि हास्यमार्फत उनीहरूलाई सत्तासीन व्यक्तिहरूलाई उपहास गर्न पाउँछन् जसले सत्तासीनलाई उनीहरूले चाहेको सम्मान र अधीनस्थ हासिल गर्न कठिन बनाउँछ ।
यदि तपाईंले ‘नयाँ भारत’ हेर्ने दर्शकको प्रतिक्रिया पढ्नुभयो भने कामराले गरेका व्यंग्यप्रति जनसमर्थन कति व्यापक छ भनेर बुझ्न सक्नुहुन्छ । उनले व्यंग्य गरेका सबै नेताहरू भारतीय जनता पार्टी (भाजपा) वा तिनका सहयोगी हुन् । एकातर्फ यसले भारतमा भइरहेको वैचारिक विभाजन देखाउँछ भने अर्कोतर्फ भाजपा सरकारको निरंकुश प्रवृत्तिप्रति असन्तोष प्रकट गर्छ । धेरैले ‘बुलडोजर न्याय’ भनेर व्याख्या गर्ने शासनशैली वास्तवमा ‘बुल्डोजर अन्याय’ हो ।
त्यसैगरी मूलधारका सञ्चारमाध्यमले मोदी र भाजपालाई खुला रूपमा आलोचना गर्न नचाहेको कारण पनि कामराको व्यंग्य विशेष लाग्छ । उनको हास्य विद्रोहको प्रतीक बनेको छ जसको मूल कारण हो मिडिया संस्थाको मौनता हो । हाल अधिकांश मूलधारका सञ्चारमाध्यमले ‘सन्तुलन’ कायम गर्ने नाउँमा भाजपालाई सोझो रूपमा प्रश्न उठाउने प्रयास गर्दैनन् । उदाहरणका लागि एउटा दैनिकले भारतमा संकटकाल लागू हुँदा निर्भीक भएर खबर लेख्थ्यो, तर अहिले प्रधानमन्त्रीका सामान्य अभिव्यक्ति पनि प्रमुख समाचार बन्ने गर्छ । एक अर्को दैनिकमा भाजपालाई असहज पार्ने समाचार प्रायः खण्डनबाट सुरु हुन्छन् । एक प्रतिष्ठित पत्रिकाको सम्पादकीय पृष्ठमा मोदीको नामै नलिई आलोचना गरिएको पनि देखियो । टेलिभिजन च्यानलको अवस्था त झन् सोचनीय छ ।
यी दैनिकले कुनाल कामराको समर्थनमा सम्पादकीय लेख्ने र सरकारलाई अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको स्मरण गराए पनि मुख्य प्रश्न के यी संस्था आफैँ सरकारको विरोध गर्न सक्छन् ? सबैभन्दा दमनकारी समाजमा पनि बोल्ने अधिकार त सैद्धान्तिक रूपमा रहन्छ, तर त्यहाँ ‘बोलिसकेपछि स्वतन्त्र रहने’ अधिकार हुँदैन । भारतमा पनि अहिले यही अवस्था देखिएको छ । कामराले व्यंग्यको माध्यमबाट यो शून्यतालाई चिरिरहेका छन् । डिजिटल मिडिया, स्वतन्त्र युट्युब च्यानल, र स्वतन्त्र पत्रकारको सानो समूहले विरोधी स्वरलाई जोगाइरहेका छन् जसले परम्परागत सञ्चारमाध्यमको स्थान लिन थालेका छन् । उनीहरूले आफ्नो स्वतन्त्रता जोखिममा राखेर विरोधको संस्कृतिलाई जीवित राखेका छन् ।
तर, कुनाल कामराको व्यंग्य थप प्रभावकारी छ किनभने उनी मानिसलाई हँसाएर फरक मत प्रस्तुत गर्छन् । हास्यव्यंग्य लेखक मार्क ट्वेनले ‘हास्यव्यंग्य सत्ताविरुद्धको एक मात्र प्रभावकारी हतियार हो । हास्यव्यंग्यको आक्रमणका कुनै पनि शक्ति टिक्न सक्दैन’ भनेका थिए । एउटा उत्कृष्ट विश्लेषणलाई मिथ्या तथ्यद्वारा खण्डन गर्न सकिन्छ, तर कामराको व्यंग्यलाई तर्क वा प्रतिवादद्वारा कमजोर पार्न सम्भव छैन । यदि कसैले उनलाई खण्डन गर्न भिडियो वा वक्तव्य जारी गर्यो भने ती व्यक्ति नै हास्यास्पद देखिनेछन् । यही कारणले सत्ताधारीले कामरालाई धम्क्याउने प्रयास गरेका छन् ।
कुनाल कामराले आफ्नो हास्यव्यंग्यलाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् जुन वास्तवमा कमजोर तप्काको प्रतिरोधको अस्त्र हो । उनी झुक्न चाहँदैनन् न त आफ्नो हास्यव्यंग्यका लागि माफी माग्न नै इच्छुक छन् । यसैकारण उनको व्यंग्य सशक्त छ र सत्ताका लागि असह्य बन्दै गएको छ ।
(अस्रफ वरिष्ठ पत्रकार र भिमा कोरेगाउँ : च्यालेन्जिङ कास्टका लेखक हुन्)
मिड डेबाट