मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
२o८१ मङ्सिर १२ बुधबार १४:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १४:४७:oo

लमजुङ बेँसीसहर नगरपालिका– ८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण गरेर व्यवस्थित बनाएसँगै यतिवेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । यहाँ दैनिक दुई सयदेखि तीन सयजना बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।

शुक्रबार, शनिबार र बिदाको समयमा छ, सात सयजना भन्दा बढी पर्यटक आउने गरेको स्थानीयवासीले बताएका छन् । बजारनजिकै घुम्न तथा समय बिताउनका लागि पर्यटकीय स्थलका रूपमा नगरपालिकाले सो उद्यान निर्माण गरेपछि पर्यटक आकर्षित हुन थालेका हुन् ।

बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र एउटा पनि उद्यान नहुँदा घुम्ने, हेर्ने, तथा मनोरञ्जन गर्ने कुनै ठाउँ नभएकाले उद्यान निर्माण गरी व्यवस्थित बनाएसँगै पर्यटकको चाप बढिरहेको बताए ।

आठ रोपनी क्षेक्रफलमा चार बस्ने ठाउँ, एउटा पानीको फोहाेरा संरचना, पिकनिकको लागि सेड, बालबालिका खेल्न उद्यान, शौचालय, पार्कभित्र हिँड्ने सिँढीलगायतको संरचना निर्माण भएको नगरप्रमुख अर्यालको भनाइ छ । उनका अनुसार यस उद्यान टिकट व्यवस्था लागू गरी पर्यटक तथा स्थानीयबाट शुल्क उठाउने तयारी भएको छ । वि.सं. २०७५ चैत १२ गतेबाट निर्माणकार्य थालनी भएको उक्त पार्कमा हालसम्म ५०–६० लाख बढी लगानी भइसकेको नगरपालिकाले जनाएको छ ।

यस उद्यानमा आएका पर्यटक सन्तोष थापाले भने–बजारनजिकै उद्यान बनेपछि घुम्न रमाइलो हुने गरेको छ । आफू परिवारसँग वेलावेलामा आउने पार्कमा घुम्दा मनोरञ्जन प्राप्त हुने गरेको उनको भनाइ छ । त्यस्तै, अर्का पर्यटक सोविता परियारले पार्क घुम्दै मनोरञ्जन हुने गरेको र समय बिताउन पनि सहज हुने भएकाले यहाँ साथीहरूसँग आएको बताए ।

त्यस्तै, स्थानीय सिर्जना श्रेष्ठले भनिन्– यहाँ आउने पर्यटक उद्यानमा भिडियो बनाउने, फोटो खिच्ने, सेल्फि खिच्ने, टिकटक बनाउँदै रमाउने गर्दछन् । साथै यहाँ विभिन्न ठाउँबाट पिकनिक खानालाई आउने गरेको उनको भनाइ छ । साथै नाचगानसमेत हुने हुँदा पर्यटकलाई थप मनोरञ्जन प्राप्त गर्ने गरेको छ ।

यस उद्यानबाट ऐतिहासिक तथा धार्मिक करपुरेश्वर महादेव मन्दिर, मर्स्याङ्दी नदी, विभिन्न गाउँ, बेँसीसहर बजारको केही भाग, लमजुङ दरबार, लमजुङ हिमाललगायत विभिन्न हिमालसमेत देख्न सकिन्छ । सो स्थानमा जनयुद्वका वेला नेपाली सेनाले लामो समयसम्म बसोबास गरेको थियो । मुलुकमा शान्ति स्थापनाको केही वर्षपछि स्थानीयको आग्रहमा यहाँबाट नेपाली सेना अन्यन्त्र गएको थियो । सेना गएको केही वर्षसम्म बम रहेको आशंकामा उक्त उद्यानमा स्थानीय जान सकेनन् । 

जोखिम नरहेको ठहरपछि वि.सं. २०७५ देखि नगरपालिकाले उद्यान निर्माण थालनी गरेको थियो । करपुरेश्वर पार्कबाट परिचित तथा यस उद्यानको नाम परिमार्जित हुनुअघि सो स्थान मलामी चौउरको नामले परिचित रहँदै आएको थियो । यहाँ मान्छे मरेर मर्स्याङ्दीमा जलाएर फर्किएपछि सो स्थानमा बस्ने गरेकाले मलामीचौरको नामले परिचित रहेको स्थानीयको भनाइ छ ।