लेबनान र इजरायली एकाइ लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ।
लेबनानका लागि राष्ट्रसंघीय विशेष संयोजक (युएनएससिओएल) जेनिन हेनिस–प्लास्चर्टले मंगलबार विज्ञप्ति जारी गर्दै सम्झौताले दुवै पक्षका नागरिकको सुरक्षा पुनर्स्थापना गर्ने प्रस्ताव– १७०१ (२००६)को पूर्ण कार्यान्वयनमा गरिएको महत्त्वपूर्ण प्रक्रियाको सुरुवातलाई संकेत गर्ने बताएकी छिन्। उनले सम्झौता कार्यान्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउँदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गरिन्।
प्रस्ताव– १७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत उनले बताएकी छिन्।
यसको माध्यमबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गरेकी छिन्। हाल प्राप्त उपलब्धिलाई सुदृढ पार्न ठोस कार्यहरूमार्फत काम गर्ने समय भएको उनले प्रस्ट पारेकी थिइन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार लेबनान र इजरायली एकाइ युद्धविराममा सहमत भएको घोषणा गरेका हुन्, जुन बुधबारदेखि लागू हुने जनाइएको छ।
युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तिमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन्।