राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा भएको बताएका छन्। मुलुकमा देखिएको सम्पूर्ण रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेती गरी षड्यन्त्रपूर्वक ढंगबाट राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएकोसमेत थापाले बताएका छन्।
बुधबार विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशीको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देशभित्रका पार्टीहरूलाई प्रयोग गरिएको थापाले आरोप लगाए।
सबै समस्याको अचुक रामवाण गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न विदेशीले करोडौँ खर्च गरेकोसमेत उनको टिप्पणी थियो। विदेशीको दबाब, प्रभाव र सत्ता स्वार्थमा माओवादीसँगै कांग्रेस, एमाले पनि बहकिएको थापाको दाबी छ।