मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
२o८१ मङ्सिर १२ बुधबार १८:१८:oo
Read Time : > 1 मिनेट
समाचार

झारफुकबाट निःसन्तान महिला गर्भवती हुने भन्दै ठगी धन्दा चलाउने ‘बाबा’ पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १८:१८:oo

लामो समयसम्म पनि सन्तान नभएका महिलालाई झारफुक र घरेलु औषधि प्रयोग गरी गर्भवती बनाइदिने ग्यारेन्टीसहित रकम असुली धन्दा चलाउँदै आएका व्यक्ति प्रहरीको फन्दामा परेका छन्। सिराहाको धनगढीमाई नगरपालिका–५, गोठटोलका करिब ६५ वर्षीय दुःखी ठाकुरलाई ठगी आरोपमा मंगलबार उनकै निवासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार सन्तान नभएका महिलालाई प्रलोभनमा पारी करिब एक वर्षदेखि उनले ठगी धन्दा चलाउँदै आएका थिए। उनीमाथि अनुसन्धान गर्न सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ। 

‘मसानी बाबा भएको दाबी गर्दै उनले घरनजिकैको शिव मन्दिर प्रांगणमा तन्त्रमन्त्र, झारफुक र घरेलु औषधिबाट सन्तान हुने भन्दै महिलालाई ग्यारेन्टी दिँदै प्रलोभनमा पार्दा रहेछन्,’ उनले भने, ‘गर्भवती बनाएपछि देवीदेवतालाई खुसी पार्न प्रसाद तथा नगद रकम चढाउनुपर्छ भन्दै सयजना महिलासँग ठगी गरेको खुलेपछि अदालतको अनुमतिमा पक्राउ गरिएको हो।’

शिक्षिकासमेत ठगको सिकार 
प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार सिराहा, धनुषा, महोत्तरी, सर्लाही तथा भारत विहारदेखिका महिलालाई ठगी गरेको अनुसन्धानबाट देखिएको छ। ३१ जना महिलाले १८ लाख ६० हजार बिगो राखी ठगीविरुद्ध जाहेरी दिएपछि अदालतको अनुमतिमा पक्राउ गरिएको हो। आफूसँग रकम असुलेको व्यक्ति पक्राउ गरेको खबर पाएलगत्तै धनुषा, महोत्तरी, सिराहालगायतका करिब डेढ दर्जन महिला रकम फिर्ता माग गर्दै बुधबार दिउँसो लहान प्रहरीमा पुगेका थिए। 

प्रहरी कार्यालयबाहिर भेटिएकी महोत्तरीकी ३२ वर्षीया एक शिक्षिकाले भनिन्, ‘ग्यारेन्टीसहित सन्तान हुने आश्वासन दिएपछि दुईपल्टसम्म गोठटोल धाएँ। हरेकपटक १५ हजारका दरले ३० हजार लियो,’ उनले भनिन्, ‘त्यसबाहेक घाँटीमा झुन्ड्याउने जन्तर, घरेलु औषधि र आवतजावतको अलग्गै जोड्दा ७० हजार खर्च भयो।’ 

उनीसँगै आएकी करिब ४५ वर्षीया महिलाले पनि वर्षौंसम्म सन्तान नहुँदाको पीडामा झारफुक र घरेलु औषधिले सन्तान हुने सुनेपछि बहकाउमा परेर ठगिएको बताइन्।