गत २३ पुसमा सर्वोच्चको संयुक्त इजलासले गरेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ –
- ...प्रतिवादी माइतमा बसेको तीन वर्ष अवधि पुगेको भनी मानेको अवस्थामा पनि समयको गणना गरी अवधि पुग्नु मात्र सम्बन्धविच्छेदको आधार हुन सक्ने देखिएन । सम्बन्धविच्छेद हुनका लागि स्वास्नीले लोग्नेको मन्जुरीविना स्वेच्छाले घर छाडेको हुनु अनिवार्य हुन्छ ।
- ...यदि उल्लेखित पक्षलाई अनदेखा गर्ने हो भने लोग्नेले सम्बन्धविच्छेद गर्न चाहेमा जुनसुकै बखत स्वास्नीलाई घर बस्न नसक्ने परिस्थिति सिर्जना गरी स्वास्नी घर छाडी बाहिर बस्नुपर्ने परिस्थिति उत्पन्न हुन सक्ने र सो अवस्थामा समेत स्वास्नीले तीन वर्षभन्दा बढी अवधि लोग्नेलाई छाडी बाहिर बसेको भनी लोग्नेले स्वास्नीसँग सम्बन्धविच्छेद गर्न पाउने अवस्था उत्पन्न हुन जान्छ ।
सर्वोच्च अदालतले श्रीमान्सँग घरमा बस्ने वातावरण नभएको अवस्थामा श्रीमती अलग्गै बसेमा त्यसैका आधारमा सम्बन्धविच्छेद गर्न नसकिने व्याख्या गरेको छ । साथै श्रीमान्को मन्जुरीविना श्रीमती तीन वर्षसम्म छुट्टै बसेको आधार मानेर सम्बन्धविच्छेदको फैसला गर्न नसकिने भनेको छ ।
सर्वोच्चको संयुक्त इजलासले गत वर्ष २३ पुसमा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । फैसलामा भनिएको छ, ‘लोग्नेको घरमा श्रीमती बस्न नसक्ने अवस्था उत्पन्न भई श्रीमती घर छाडी अलग बसेको परिस्थितिमा समेत लोग्नेले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पाउने भनी व्याख्या गर्नु न्यायपूर्ण देखिएन ।’
श्रीमती तीन वर्षसम्म श्रीमानको मन्जुरीबेगर छुट्टै बसेमा सम्बन्धविच्छेदको आधार तयार हुने कानुनी व्यवस्था छ । हालको देवानी संहितामा पनि तीन वर्ष वा सोभन्दा बढी मन्जुरीविना बसेमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्थाकै निरन्तरता छ । साबिकको मुलुकी ऐनको लोग्ने–स्वास्नीको महलअनुसार दायर मुद्दा ०७० सालदेखि काठमाडौं जिल्ला अदालत पुगेको थियो । उक्त मुद्दा अहिले टुंगिएको हो । जसमा स्वास्नीले लोग्नेको मन्जुरीविना नचाहँदा–नचाहँदै घर छाडेको आधारमा नभई स्वेच्छाले घर छाडेको अवस्थामा मात्रै सम्बन्धविच्छेद हुन सक्ने स्पष्ट पारेको छ ।
‘...प्रतिवादी माइतमा बसेको तीन वर्ष अवधि पुगेको भनी मानेको अवस्थामा पनि समयको गणना गरी अवधि पुग्नु मात्र सम्बन्धविच्छेदको आधार हुन सक्ने देखिएन । सम्बन्धविच्छेद हुनका लागि स्वास्नीले लोग्नेको मन्जुरीविना स्वेच्छाले घर छाडेको हुनु अनिवार्य हुन्छ,’ फैसलामा छ । नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा विवाहपश्चात् महिलाले माइती छाडी श्रीमान्को घरमा बस्नुपर्ने र त्यसैलाई वासस्थान मान्नुपर्ने व्यवस्था रहेकोमा श्रीमान्को परिवारले बस्न नदिएको अवस्था पनि हुन सक्ने भन्दै केवल समयलाई आधार मान्न नमिल्ने फैसला सर्वोच्चले गरेको छ ।
सम्बन्धविच्छेदसम्बन्धी कानुनको व्यवस्थाले फैसला गर्दा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक, सामाजिक परिवेश, सामाजिक तथा पारिवारिक संरचना तथा परिवारभित्रको शक्ति सन्तुलनलगायत पक्षलाई बेवास्ता गर्न नमिल्ने आसय राखेको फैसलामा छ । ‘यदि उल्लेखित पक्षलाई अनदेखा गर्ने हो भने लोग्नेले सम्बन्धविच्छेद गर्न चाहेमा जुनसुकै बखत स्वास्नीलाई घर बस्न नसक्ने परिस्थिति सिर्जना गरी स्वास्नी घर छाडी बाहिर बस्नुपर्ने परिस्थिति उत्पन्न हुन सक्ने र सो अवस्थामा समेत स्वास्नीले तीन वर्षभन्दा बढी अवधि लोग्नेलाई छाडी बाहिर बसेको भनी लोग्नेले स्वास्नीसँग सम्बन्धविच्छेद गर्न पाउने अवस्था उत्पन्न हुन जान्छ,’ फैसलामा छ ।
श्रीमान्–श्रीमतीको झगडाले गरायो नयाँ नजिर स्थापित
चाबहिल बस्ने मुनिष आचार्य र श्रुती गौतमबिच ०६६ असारमा विवाह भएको थियो । तर, श्रीमती अनेक बहानामा सुरुबाटै माइतै बस्ने गरेको, बच्चाको जायजन्म पनि नभएको र ०६७ दसैँमा श्रीमतीका परिवार आएर आफू र आफ्ना बुबामाथि पनि हातपात गरेको आरोप लगाउँदै ०६९ कात्तिकमा सम्बन्ध टुटाउन काठमाडौं महानगरपालिकामा निवेदन दिएका थिए । तर, त्यहाँ समाधान नभएपछि काठमाडौं जिल्ला अदालत हुँदै उच्च अदालतमा पनि सम्बन्धविच्छेदको प्रक्रिया अघि बढेको थियो । दुवै अदालतले सम्बन्धविच्छेद नहुने फैसला गरेपछि आचार्यले सर्वोच्चमा मुद्दा दोहो¥याइपाऊँ भनेर निवेदन दिएका थिए ।
श्रीमतीले हाल पनि अफिसमा आएर झगडा गर्ने गरेको तथा श्रीमतीबाट हिंसा सहँदै आएको दाबी अदालतमा गरेका थिए । गौतमले भने श्रीमान्का परिवारले सँगै बस्न नदिएका कारण आफू बाध्य भएर माइती बस्नुपरेको र वातावरण भए पतिसँगै बस्न तयार रहेको बताएकी थिइन् । यही मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले फैसला दिएको हो । ‘...यदि स्वास्नीले लोग्नेको घर बस्न नसक्ने अवस्था भई बाध्यतावश घर छाडेको स्थिति हो भने स्वास्नीले स्वेच्छाले घर छाडेको भनी मान्न मिल्ने अवस्था हुँदैन,’ न्यायाधीशद्वयको मत छ ।