पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्न माग गर्दै उनका समर्थकले देशको राजधानी इस्लामाबादतर्फ निकालेको र्याली हिंसात्मक बनेको छ । हिंसाका कारण पाकिस्तानी सुरक्षा बलका केही सदस्यको मृत्यु भएको बताइएको छ । मंगलबार खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)का हजारौँ समर्थक देशभरबाट राजधानी प्रवेश गरेका थिए । सुरक्षाकर्मीले नाकाबन्दी लगाएर उनीहरूको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर, उनीहरू प्रहरी नाकाबन्दी तथा अश्रुग्यासका बाबजुद इस्लामाबाद पुगेका छन् ।
पिटिआई समर्थकले खानविरुद्ध लागेको आतंकवादको आरोपमा अदालतमा सुनुवाइ हुनुअघि पूर्वप्रधानमन्त्रीको रिहाइको माग गर्दै शक्ति प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सुरक्षा सेवामा संलग्न चार सदस्यलाई गाडीले ठक्कर दिएलगत्तै मारिएको बताएको छ । प्रधानमन्त्री सरिफले हिंसाको निन्दा गर्दै भने, ‘यो शान्तिपूर्ण आन्दोलन होइन । यो अतिवाद हो ।’
इस्लामाबादतर्फ अघि बढेका प्रदर्शनकारी र प्रहरीबिच विगत दुई दिनदेखि ठाउँठाउँमा झडप भइरहेको छ । उता पिटिआई समर्थकले राजधानीमा शक्ति प्रदर्शन गर्ने योजना गरिरहँदा इस्लामाबाद नगर प्रशासनले गतसाता सार्वजनिक जमघटमा दुई महिना प्रतिबन्ध लगाएको थियो ।
मृत्यु हुनेको संख्या फरक–फरक आइरहेको छ । चारजना सुरक्षाकर्मीका अतिरिक्त अप्रमाणित रिपोर्टहरूले भागदौडका क्रममा एकजना नागरिकको र अर्को एक घटनामा एकजना प्रहरीको पनि मृत्यु भएको बताइएको छ । इस्लामाबादबाट रिपोर्ट गर्ने पत्रकारले स्थिति ‘अत्यन्त तनावपूर्ण’ रहेको उल्लेख गरेका छन् । ‘मृत्युबारे परस्परविरोधी कुरा आइरहेका छन् । सरकारले प्रदर्शनकारी चढेको गाडीले सुरक्षाकर्मीलाई हानेर भागेको भनिरहेको छ । तर, प्रदर्शनकारीले भने भिड नजिकिएपछि आतंकित भएर भागेको सुरक्षा बलको गाडी पल्टिँदा घटना भएको बताइरहेका छन्,’ अल जजिराका पत्रकार कमल हैदरले भने ।
सन् २०२२ मा अविश्वासको मतदान हारेपछि अपदस्थ भएका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएपछि एक वर्षभन्दा लामो समयदेखि जेलमा छन् । उनीविरुद्ध १५० भन्दा बढी आपराधिक मुद्दा चलिरहेका छन् । उनको पार्टीले सबै मुद्दा राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाइरहेको छ । तर, सरकार भने अदालतले मात्रै खानलाई रिहा गर्न सक्ने भनेर पन्छिरहेको छ ।
– अलजजिराबाट