उत्तर कोरिया र रुसबिच बाक्लिँदो सम्बन्धले चीन बढ्दो रूपमा असहज महसुस गरिरहेको छ । अमेरिकाका उपविदेशमन्त्री कर्ट क्याम्पवेललाई मान्ने हो भने प्योङयाङ र मस्कोबिचको बढ्दो सहकार्यले चीनलाई चिन्तित बनाएको छ । युक्रेनमा जारी युद्धमा रुसलाई सघाउन १० हजार आफ्ना फौज पढाउने उत्तर कोरियाली नेता किम जोङ उनको निर्णयप्रति चीनको दृष्टिकोणबारे अहिले धेरैको चासो छ । चीनसँग सुमधुर सम्बन्ध नरहेका एसियाका अमेरिकी साझेदार म्ुलुकमा यसले बहसकै रूप लिएको छ । बहसबिच उता अमेरिकी उप विदेशमन्त्री क्याम्पबेलले उनको सरकारको धारणा राखेका छन् । उत्तर कोरियाले पठाउने भनेको संख्याको फौज हाल रुस पुगिसकेको अमेरिकी गुप्तचर रेकर्डले देखाउँछ ।
रुसलाई सघाउन उत्तर कोरियाले सेना पठाउने विषयमा चीनको समर्थन रहेकोमा जापानको विदेश मन्त्रालयभित्रै थोरैले मात्र आशंका गर्छन् । तथापि चीन यस मुद्दामा धेरै हदसम्म मौन रहेको जापानी अधिकारी मान्छन् । तिनको विश्लेषणमा युक्रेनमा रुस–उत्तर कोरियाको सैन्य गठबन्धनलाई देखाएर कतै अमेरिकाले पूर्वी एसियामा पनि दक्षिण कोरिया र जापानसँग सैन्य गठबन्धन विकास गर्ला भन्ने चिन्ताले चिनलाई सताएको छ । अमेरिका पहिलेदेखि नै यस भेगमा आफूलाई नियन्त्रण गर्ने दाउमा रहेकोमा रुस–उत्तर कोरियाको गठबन्धन उसलाई थप बहाना हुने बेइजिङको विश्लेषण छ । यी डरबिच चीनले केही मित्रताको हात पनि बढाएको छ ।
पछिल्लो समय तनाव कम गर्ने एक दुर्लभ प्रयासका रूपमा चीनले जापानको विशेष आर्थिक क्षेत्र नजिकै राखेको समुद्री निसाना हटाउन चाहेको जापानलाई सूचित गरायो । पूर्वी चीन सागरमा जापानी–प्रशासित सेन्काकु टापुनजिक राखिएका ती सूचक हटाउने काम सानो भए पनि ती टापु जापान र चीनबिचको सम्भावित मुठभेड हुने स्थान मानिन्छन् । चीनको पछिल्लो कदम जापानभित्र चीनसँग मुठभेड नचाहने समूहलाई प्रभावित बनाउने प्रतीकात्मक प्रयासको रूपमा हेरिएको छ ।
वासिंटनस्थित थिंक ट्यांक ‘सेन्टर फर स्ट्रयाटेजिक एन्ड इन्टरनेसनल स्ट्डिज’मा भर्खरै सम्पन्न एक सेमिनारमा बोल्ने क्रममा क्याम्पबेलले भने, ‘चिनियाँ वार्ताकारहरू रुस र उत्तर कोरियोबिचका सम्बन्धका कैयौँ पक्षबारे अज्ञात देखिन्छन् । चिनियाँ र अमेरिकी अधिकारीबिच भएका केही वार्ताका क्रममा हामीले पो उनीहरूलाई उत्तर कोरियाले लिएका पछिल्ला कदमबारे जानकारी दिइरहेको पायौँ । उनीहरू चिन्तित छन् कि कतै रुसी प्रोत्साहनबाट उत्तर कोरियाले चीनको हितविपरीत हुने कदम गर्ने वा सैन्य कारबाहीबारे पो विचार गरिरहेका छन् कि भन्ने ।’ उनले थपे, ‘चीन रुसको खुला आलोचना गर्ने पक्षमा छैन । तर, हामी विश्वस्त छौँ कि प्योङयाङ र मस्कोबिचको बढ्दो सहकार्यले चिनियाँहरूलाई चिन्तित बनाइरहेको छ ।’
चीन र रुसबिच ठुलो दरार रहेको विषयमा पनि विश्लेषक एकमत छैनन् । ‘यस विषयमा बेइजिङमा देखिएको मौनता छक्कलाग्दो छ । चिनियाँ प्रेसमा न त रुस र उत्तर कोरियाबिच गर्मी महिनामा भएको रणनीतिक सम्झौताबारे एक शब्द आयो, न सेना पठाउने विषयमै केही आयो,’ पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका लागि सिआइए पूर्वसहायक निर्देशक डेनिस वाइल्डरले भने, ‘चीन उसको ‘क्लाइन्ट स्टेट’ले युक्रेनमा लडिरहेको तथ्यलाई अन्तर्राष्ट्रिय रूपमा कसरी बेवास्ता गर्न सक्छ ? युरोपेलीहरू अहिले उत्तर कोरियाली कदमबाट भन्दा चीनको मौनताबाट चिन्तित छन् ? रुसले भविष्यमा उत्तर कोरियालाई आणविक सहायताको बाटो समात्यो भने पूर्वी एसियामा अमेरिका आफ्ना साझेदारबिचको थप बलियो गठबन्धन बनाउन वा अझ एसियाली नेटो निर्माणको बाटो अघि बढ्न सक्छ । त्यसले राष्ट्रपति सी जिनपिङका लागि धेरै कठिन अवस्था सिर्जना गर्नेछ ।’
अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’का कमान्डर एडम स्यामुएल पापारोले शनिबार ह्यालिफ्याक्स सुरक्षा फोरममा बोल्ने क्रममा रुस, चीन र उत्तर कोरियाबिच ‘लेनदेनयुक्त फाइदाको सम्बन्ध’ विकास भएको दाबी गरे । ‘उत्तर कोरियाले रुसलाई चाहिएको हातहतियार र मिसाइल दिइरहेको छ । बदलामा रुसले सम्भवतः उत्तर कोरियालाई मिसाइल र पनडुब्बी प्रविधि प्रदान गर्नेछ,’ कमान्डर पापारोले भने, ‘चीनले रुसको युद्ध पूर्वाधार पुनर्निर्माण गर्न उसलाई आवश्यक ९० प्रतिशत सेमीकन्डक्टर र ७० प्रतिशत तकनिकी औजार उपलब्ध गराएको छ ।’
अस्ट्रेलियाको ‘अफिस अफ नेसनल इन्टेलिजेन्स’का महानिर्देशक एन्ड्रयु सियरर उत्तर कोरिया र रुसबिचको घनिष्ठताबाट चीन धेरै असहज भएकोमा शंका व्यक्त गर्छन् । ‘पुटिन र सीबिचको फाटो ल्याउने विचार रंगीन कल्पना मात्र हो । चीनको सैन्य, कूटनीतिक र दोहोरो प्रयोगमा आउने प्रविधिको सहयोग दिएकै कारण रुस अहिले पनि युक्रेनमा लड्न सक्षम भएको हो । हामीले यस वास्तविकताको सामना नगरेसम्म प्रभावकारी रणनीति बनाउन सक्दैनौँ ।’
जापानी पर्यवेक्षक पनि उस्तै गरी चीनको मनोवृत्तिबारे आशंका व्यक्त गर्छन् । ‘रुसको योजनाबारे चीन जानकार थिएन भनेर पत्याउन सकिँदैन । चीन रुसले पश्चिमसँग हारोस् भन्ने चाहँदैन । आखिर, रुसको जितले ताइबानलाई नियन्त्रण गर्ने चिनियाँ योजनालाई मद्दत नै पुग्छ,’ कोमाजावा विश्वविद्यालयमा कानुन संकायकी प्रोफेसर एमी मिफुनेले भनिन् । उनले मे २०२४ मा चीन–रुसबिच सम्पन्न शिखर सम्मेलनलाई एक महŒवपूर्ण बैठकको रूपमा औँल्याइन्, जहाँ चीनले रुसबाट टुमेन नदीबाट जापान सागरसम्म जान पाउने सहुलियत पायो ।
जापानको ‘नेसनल डिफेन्स एकेडेमी’का प्रोफेसर हिदेया कुराताको विचारमा रुस–उत्तर कोरियाबिचको घनिष्ठताप्रति बेइजिङको अडान अनुमोदन–अस्वीकृतिको आधारमा भन्दा पनि सुविधाजनक–असुविधाजनकका आधारमा छ । कुराताले कोरियाली प्रायद्वीपलाई पुनः एकीकरण गर्ने प्रयास परित्याग गर्ने उत्तर कोरियाको निर्णयको सन्दर्भमा द्वन्द्वलाई हेर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनका अनुसार उत्तर कोरियाले तनावलाई चरणबद्ध रूपमा बढाउने प्रयास गरेको छ । यसअन्तर्गत उसले पहिले रणनीतिक आणविक हतियारबाट सुरु ग¥यो । त्यसपछि जापानलाई लक्षित गर्ने मध्यवर्ती दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र बनायो । अनि, गुआमलाई लक्षित गर्ने मध्यवर्तीदेखि लामो दूरीका क्षेप्यास्त्र बनायो । अहिले आएर अमेरिकी मुख्य भूमिलाई लक्षित गर्न सक्ने अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्रसम्म बनाइसकेको छ । कुराताको विश्वासमा अमेरिकासँग उत्तर कोरियाविरुद्ध ‘डिटरेन्स’को काम गर्ने मध्यम दूरीका आणविक हतियार न यस भेगको जमिनमा छ, न समुद्रमै छ ।
– द गार्जियनबाट