मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
मार्क मास्लिन/प्रिती पारिख/सिमोन चिन–ये
२o८१ मङ्सिर १२ बुधबार १o:५१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोप २९ सम्मेलनका नतिजा

Read Time : > 2 मिनेट
मार्क मास्लिन/प्रिती पारिख/सिमोन चिन–ये
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १o:५१:oo

कोप २९ लाई जीवाश्म इन्धनबाट संक्रमणका लागि आवश्यक लगानी जुटाउन देखिएको सामूहिक असफलताका रूपमा हेर्न सकिन्छ

अजरबैजानको बाकुमा आयोजित २९औँ राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन (कोप २९) जीवाश्म इन्धनबाट विश्वव्यापी रूपान्तरणका लागि वित्तीय स्रोत जुटाउने विषयमा केन्द्रित रह्यो । छलफलमा विकसित राष्ट्रद्वारा प्रतिवर्ष प्रतिज्ञा गरिएको एक खर्ब डलरलाई कम्तीमा १० खर्बसम्म बढाउने प्रयास गरियो । बढाइएको रकमले अल्पविकसित राष्ट्रको नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले कोप २७ मा स्थापित ‘नोक्सानी एवं क्षतिपूर्ति कोष’को लगानी कसले गर्ने भन्ने विषयलाई पनि सम्बोधन गर्‍यो, जसले जलवायु प्रभावबाट प्रभावित विकासोन्मुख राष्ट्रलाई क्षतिपूर्ति दिन्छ ।

जलवायु न्यूनीकरण र अनुकूलनका लागि खर्बौं डलर आवश्यक छ । तर, कोप २९ ले सीमित वित्तीय सहयोग मात्र जुटाउन सक्यो । विकासोन्मुख मुलुकले सन् २०३५ सम्म १३ खर्ब डलर माग गरेका थिए, जसमा चीनजस्ता सम्पन्न तर अझै पनि विकासोन्मुख श्रेणीमा रहेका मुलुकको योगदान पनि थियो । तर, सरकार र निजी क्षेत्रबाट तीन खर्बको सानो प्रतिज्ञा मात्र प्राप्त भएको छ । कमजोर राष्ट्रलाई मद्दत गर्न स्थापित ‘नोक्सानी र क्षतिपूर्ति कोष’ सञ्चालनमा आए पनि यो गम्भीर रूपमा वित्तीय अभावमा छ र कोषमा कसले योगदान गर्ने र कसले दाबी गर्न पाउने भन्नेमा सहमति भएन । शून्य–उत्सर्जन इन्धन र यातायात क्षेत्रमा सुधारको आह्वान भए पनि पर्याप्त वित्तीय स्रोतको अभाव देखियो ।

चीनले नेतृत्व लियो, अमेरिका पछि हट्यो र भारत सहभागी नै भएन । कोप २९ मा कार्बन तटस्थता र हरित प्रविधिमा लगानीप्रति चीनले प्रतिबद्धता प्रस्ट देखाएको छ, जहाँ चीनका मन्त्रालय, निजी क्षेत्र र विज्ञको सक्रिय सहभागिता थियो । तर, चीनले सन् १९९२ को राष्ट्रसंघीय परिभाषाअनुसार आफूलाई ‘विकासोन्मुख देश’ मान्ने अडान लिएको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र हुँदाहुँदै पनि यसले जलवायु वित्तीय योगदानमा स्वेच्छिक प्रतिबद्धता मात्र जनाउन सक्छ ।

भारतले कोप २९ लाई ‘प्राविधिक कोप’ भन्दै खारेज गरेको थियो, जहाँ भारतका वरिष्ठ नेतृत्व महाराष्ट्रको चुनावका कारण अनुपस्थित रह्यो । भारतको प्रतिनिधिमण्डलले १३ खर्ब डलरको लगानी विकसित देशले गर्नुपर्ने माग गर्‍यो (भारतले आफूलाई विकसित मुलुक मान्दैन) र सम्झौता अनुमोदन भएपछि भारतले असन्तोष व्यक्त गर्‍यो । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि जलवायु कार्यमा निष्क्रिय भएको अमेरिकाको कोप २९ मा सुस्त उपस्थिति देखियो र बाकुका होटलमा भएको बुकिङसमेत रद्द गरियो । 

कोप २९ मा साउदी अरबले गत वर्षको ऐतिहासिक प्रस्ताव ‘जीवाश्म इन्धनबाट संक्रमण’को पुनः उल्लेख हुन नदिन प्रयास गर्‍यो, जसले बेलायत, युरोपेली संघ र अन्य धेरै मुलुकलाई निराश बनायो र निराश हुनेमा पेट्रोराज्य युएई पनि समावेश थियो । अन्तिम समयमा प्रस्तावलाई यस वर्षको सम्झौतामा समावेश गरियो । तर, यसको परिच्छेद र दस्ताबेज संख्या मात्रै उल्लेख गरियो, जसमा ‘जीवाश्म इन्धन’ शब्दको प्रयोग देखिँदैन । तर, सम्झौतामा ‘संक्रमणात्मक इन्धनले ऊर्जा संक्रमणमा भूमिका खेल्न सक्छ’ भनिएको छ । जसले प्रायः प्राकृतिक ग्यासलाई जनाउँछ र यसलाई जीवाश्म इन्धन लबीको अर्को विजयका रूपमा हेरियो ।

शिखर सम्मेलनमा केही सकारात्मक नतिजा पनि आएका छन् । मिथेन प्रतिबद्धतामा ठिक यस्तै नतिजा आएको थियो । मिथेन एक शक्तिशाली हरितगृह ग्यास हो र यो खाद्य एवं अन्य जैविक फोहोर कुहिएर उत्सर्जित हुन सक्छ । कृषि एवं जीवाश्म इन्धनपछि मिथेन ग्यास मानवीय क्रियाकलापबाट उत्सर्जन हुने गर्छ । कोप २९ मा ३० मुलुक, जसले जैविक फोहोरबाट हुने विश्वव्यापी मिथेन उत्सर्जनको करिब ५० प्रतिशत हिस्सा ओगट्छन्, तिनले भविष्यका जलवायु पहलकदमीका लागि मिथेन उत्सर्जन घटाउने प्रतिबद्धता जनाएका थिए । यो प्रतिबद्धता ल्यान्डफिल स्थलमा विशेषतः मिथेन संकलन गर्ने प्रविधिको विकास र संकलित मिथेनलाई जैविक ग्यासका रूपमा ताप वा विद्युत्का लागि प्रयोग गर्नका लागि मार्ग प्रशस्त गर्नेछ ।

कोप २९ मा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले युवा प्रतिनिधिलाई ‘तपाईंलाई क्रोधित हुन पूरा अधिकार छ । र, म पनि क्रोधित छु’ भनेका थिए । एक सय ९६ देशमा बेलायत पहिलो देश बन्यो, जसले ‘युनिभर्सल युथ क्लाउज’मा हस्ताक्षर गर्‍यो, जसले मुलुकहरूले आफ्नो कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता (एनडिसीएस) मा युवालाई समावेश गर्ने उद्देश्य राख्छ । अन्य राष्ट्रले यो क्लाउज (प्रावधान) अपनाए भने यसले युवालाई जलवायु परिवर्तनबाट प्रभावित पक्षका रूपमा मात्र नभई परिवर्तनका संवाहकका रूपमा पनि प्रमुख स्थानमा राख्नेछ । 

कोप २९ ले क्रान्तिकारी निर्णय गरेन, तर धेरैले यसलाई अर्को वर्षको कोप ३० मा जान एक प्रारम्भिक कदमका रूपमा हेरिरहेका छन्, जुन पेरिस सम्झौताका १० वर्ष पूरा हुने अवसरमा हुनेछ । राष्ट्रिय उत्सर्जन कटौती योजना फेब्रुअरी २०२५ मा बुझाउनुपर्नेछ । वास्तवमा कोप २९ को अन्तिम साताको भाष्य कोप ३० मा सर्न थालिसकेको थियो, जसलाई ‘युवा कोप’ भनेर प्रचार गरिएको छ र यसमा युवाकेन्द्रित एनडिसिएसका लागि युवाको बलियो आवाज र उपस्थिति देखियो ।

कोप २९ लाई जीवाश्म इन्धनबाट संक्रमणका लागि आवश्यक लगानी जुटाउनमा देखिएको सामूहिक असफलता भनेर हेर्न सकिन्छ । यसलाई ‘वित्तीय कोप’ संज्ञा दिइए पनि आवश्यक वित्तीय स्रोत उपलब्ध भएन, जसले विश्वलाई तीन डिग्री सेल्सियसभन्दा माथिको तापमान वृद्धिको भविष्यतर्फ लैजान सक्छ ।

(लेखकत्रय युनिभर्सिटी कलेज अफ लन्डनमा अध्यापन गर्छन्) 
द कन्भर्सेसनबाट