मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
रासस पर्वत
२o८१ मङ्सिर १२ बुधबार १२:४३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

रेन्बो ट्राउट माछापालन, वार्षिक तीन करोड आम्दानी

Read Time : > 1 मिनेट
रासस, पर्वत
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १२:४३:oo

स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा–युवती बिदेसिने क्रम बढेका वेला पर्वतका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका– २ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन्।

२१ वर्ष लामो प्रहरी सेवा र ०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी– २ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चारजना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउट फार्म सञ्चालन गरेका हुन् । मोदी– ५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झन्डै ३० रोपनी क्षेत्रमा सञ्चालित फार्मबाट वार्षिक रु. तीन करोडसम्म आम्दानी हुने गरेको उनले बताए । फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट तीन करोड आम्दानी भएको उनी बताउँछन् । 

लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकबाट अवकाश लिएका तिमिल्सिना जागिर छाडेको तीन महिनामै जनप्रतिनिधि बने । जनप्रतिनिधि निर्वाचित भएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको समय हाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाको बिचमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।

उनकाे फार्म यतिवेला विभिन्न क्लब, संघसंस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसानका लागि अवलोकनस्थल पनि बनेको छ । पछिल्लो समय बाह्य पर्यटक तथा मत्स्यप्रेमी अवलोकन, माछा मार्न, विभिन्न परिकार बनाएर खानका लागि फार्ममै आउने गरेका छन् । उत्पादित ट्राउट माछा पोखरा–काठमाडौंका माछापारखीसम्म पुर्‍याउन भ्याइनभ्याई छ । वार्षिक तीस टन माछा उत्पादन हुने फार्ममा हाल पाँचजनाले रोजगारी पाएका छन् । 

वि.सं. २०७१ देखि सुरु भएको उक्त फार्म केही वर्षअघि आएको बाढीले पूर्ण रूपमा क्षति भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काले सामूहिक लगानीमा पुनः सञ्चालन गरेका थिए । फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर रु. करोड १५ लाख बचत हुने गरेको छ ।

अस्थायी र स्थायी गरी ३७ वटा पोखरी रहेका सो फार्ममा सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने मत्स्य विकास केन्द्रले पनि फार्मको स्तरोन्नति तथा पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेको छ । 

रेम्बो ट्राउट प्रतिकेजी रु. एक हजारमा बिक्री हुन्छ । स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने उनको फार्मको माछा धेरैको रोजाइमा छ । कुश्मा–बागलुङको बजारका अतिरिक्त पोखरा, काठमाडौंमा माछाको माग रहेको तिमिल्सिनाले बताए । गत वर्षदेखि उनले भुरा आफैँ उत्पादन गर्न थालेका छन् ।