मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ मङ्सिर १२ बुधबार १२:५८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यभोटेकोशीको दोस्रो परीक्षणमा पनि सुरुङबाट पानी चुहियो

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १२:५८:oo

१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको सुरुङबाट फेरि पानी चुहिएको छ। हालसालै दोस्रोपटक गरिएको परीक्षणमा सुरुङबाट पानी चुहिएको हो। बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्यान्डभन्दा माथिको सुरुङबाट पानी चुहिएपछि परीक्षण बन्द गरिएको छ।

आयोजनाका प्रमुख कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीले दोस्रो परीक्षणमा पनि पानी चुहिएको जानकारी दिए। परामर्शदाताको सुझावअनुसार चिनियाँ ठेकेदारलाई काम गर्न निर्देशन दिएको बताउँदै उनले भने, ‘पहिलाभन्दा केही सुधार भएको हो। तैपनि, विद्युत् उत्पादन गरिहाल्नचाहिँ समस्या आएको छ।’ नौ महिनाअघि परीक्षण गर्दा चुहिएको स्थानबाट नै पानी चुहिएको उनले बताए।

परीक्षण रोकेर आयोजनाको टिम अहिले सुरुङ परीक्षणमा लागेको छ। सुरुङमा भएको पानी सबै खाली गराएर लिक भएको स्थानबारे प्राविधिक टोलीले परीक्षण गर्दै छ। परामर्शदाता, चिनियाँ ठेकेदार र आयोजनाको टिम बसेर आउँदो शुक्रबारसम्म गहन छलफल गर्ने र अगाडि बढ्ने सिवाकोटीले जानकारी दिए। विद्युत् उत्पादन सुरु गर्न अझै केही महिना लाग्ने उनले प्रस्ट्याए।

पानी चुहावट भएको सुरुङको मर्मत गर्दा ग्राउन्डेड विधि अपनाएकाले डिफेक्ट आएको प्राविधिक टिमको निष्कर्ष छ। सुरुङमा लाइनिङ विधि गर्नुपर्ने थियो। कम खर्चमा सुरुङ बनाउने विधि अवलम्बन गरेको चिनियाँ कम्पनीले पानी चुहावट भएको स्थानमा सिमेन्टको घोला बनाएर प्लास्टर गरेको थियो। जब कि प्राविधिक टोलीले फलामको रडसहित जगबाटै लाइनिङ गर्नुपर्ने बताएका छन्। बाह्रबिसेका स्थानीय अगुवा भीमप्रसाद पराजुलीले सुरुङबाट पानी चुहिएकाले जोखिम बढेको बताए। जनताको लगानी सुरक्षित गर्न आयोजनाले तत्काल सुरुङ मर्मत गर्दा लाइनिङ विधि अपनाउनुपर्ने सुझाव दिए।

पहिलो परीक्षणपछि विद्युत् उत्पादन सुरु हुने आयोजनाले बताएको थियो। तर, सोही समयमा बाह्रबिसे वडा नं. ३ र ४ का स्थानीयले मुआब्जाको विषयलाई लिएर प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए। लामो समयसम्म प्रसारणलाइन निर्माण गर्न नदिएपछि सिन्धुपाल्चोक २ नम्बर क्षेत्रका संघीय सांसद मोहनबहादुर बस्नेतको दबाबमा आयोजनाले बाह्रबिसे नगरपालिकामा अस्पताल निर्माणका लागि ११ करोड दिने बताएपछि अवरोध हटेको थियो। अहिले प्रसारणलाइनको काम सकिए पनि सबस्टेसन अझै तयार भएको छैन।  स्थानीयको अवरोध, राजनीतिक नेतृत्वको दबाब र निर्माण कम्पनीको लापरबाहीले समयमै मध्यभोटेकोशीले विद्युत् उत्पादन गर्न सकेन।