नेकपा एमालेले दरबारमार्गमा जागरण सभा भएकै दिन सरसफाइ गरेको दाबी गरिरहँदा क्लिन काठमाडौं वेस्ट मेनेजमेन्टले त्यसकाे खण्डन गर्दै कार्यक्रमको भोलिपल्ट आफूहरूले दरबारमार्ग सफा गरेको जनाएको छ।
काठमाडौं महानगरलाई बोधार्थ गर्दै कम्पनीले लेखेको पत्रमा दरबारमार्ग क्षेत्रबाट चुरोटका ठुटा, रक्सीका बोतल, बियरका क्यान, पार्टीको झन्डा, बदामका बोक्रा, चटपटेका कागज, प्लास्टिक, खानेकुराका अवशेष, पानीका बोतललगायतका फोहोर संकलन गरेको जनाएको छ।
गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौं महानगर प्रहरीकाे निगरानीमा सो दिन कम्पनीका कर्मचारीले ६.७५ टन क्षमताका दुई ट्रिपर फोहोर संकलन गरेको कम्पनीले जनाएको छ।
७ मंसिरमा एमालेले जागरण सभा सञ्चालन गर्दा वडा नम्बर १ को दरबारमार्गमा फोहोरमैला गरेको भन्दै महानगरले एक लाख जरीवाना गरेको थियो । तर, एमालेले भने कार्यक्रमकै दिन नेता कार्यकर्ताले सडक सफा गरेको दाबी गर्दै महानगरको पत्र बुझ्न दुईपटकसम्म अस्वीकार गरिसकेको छ।
एमालेले सडक सफा गरेको दाबी गरिरहँदा क्लिन काठमाडौं वेस्ट मेनेजमेन्टले दरबारमार्ग क्षेत्रमा रहेका सिसिटिभी क्यामेराहरूको निगरानीमा आफूले सरसफाइ गरेको बताएको छ।
‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरुमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुटा, विरुवाका हाँगा तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौँ,’ कम्पनीले भनेको छ।